भारतीय राष्ट्रिय फुटबल टोली सन् १९७० मा मलेसियाको चर्चित प्रतियोगिता मर्डेका कप खेल्न त्यसतर्फ लाग्दा नेपालीमुलका भारतीय स्ट्राइकर श्याम थापा उत्कृष्ट फर्ममा थिए। त्यसैले राष्ट्रिय टोलीको घोषणा हुँदा कप्तान सैयद नइमुद्धिन, फरवार्ड मोहम्मद हबिब र सुभाष भौमिकसँगै थापाको छनोटलाई अनिवार्य मानिएको थियो।
आखिर भयो पनि त्यस्तै, उनी भारतको राष्ट्रिय टोलीमा पहिलो पल्ट छानिए। भारत यसअघि मर्डेका कपको दुईवटा संस्करणमा फाइनल पुगिसकेको थियो। त्यसैले यतिबेला भाग लिन जानुपूर्व नै भारतीय टोलीलाई उपाधिको दाबेदार मानिएको थियो। तर दूर्भाग्य, त्यो प्रतियोगितामा भारत उपाधि त टाढाको कुरा, फाइनलसम्म पनि पुग्न सकेन्। त्यही पनि हङकङलाई ३–२ गोलअन्तरले हराउने क्रममा तेस्रो भयो।
यतिबेला श्याम थापा निकै दुःखी थिए। तरपनि उनी यस कुराबाट निकै प्रसन्न थिए की, त्यही प्रतियोगिता खेल्न जाने क्रममा उनले निकै अगाडिदेखि सुन्दै आएको चर्चित नामसँग टेलिभिजनमार्फत साक्षात्कार हुने मौका पाए।
त्यतिबेलासम्म उनलाई टेलिभिजन भन्ने चिज के हो, पत्तो पनि थिएन। तर, भारतीय टोली बसेको होटलमा टेलिभिजनको पनि सुविधा रहेछ। मलेसिया पुगेको दोस्रो दिन भारतीय टोली अभ्यास सकेर जसो होटल फर्किदै थियो, डाइनिङ टेबलमा इन्डोनेसियाका खेलाडीको भीड देखेर उनलाई कौतुहलता जागेछ, सबै एकैतर्फ ढाड फर्काएर किन बसेका होलान? यही हुलमा उनी छिरेका मात्र के थिए, अगाडीको दृश्य देखेर दंग परे। अगाडी टेलिभिजनमा फुटबलको प्रत्यक्ष प्रसारण आइरहेको थियो, त्यो पनि ब्राजिलको। कोलकातामा हुँदा उनले ब्राजिलको नाम थुप्रै पल्ट सुनेका थिए।
त्यसमा पनि फुटबलकै महान हस्ती पेलेको किंवदन्ती सुन्दा सुन्दा पेलेप्रति उनको आकर्षण यति हदसम्म पुगिसकेको थियो, उनी पेलेलाई कुनै तिलस्मी व्यक्तिभन्दा कम सोच्दैन्थे। कहिले काहीँ भारतीय पत्रपत्रिकामा फाट्टफुट्ट छापिने पेलेको फोटो र उनको खेलको वर्णन पढेपछि थापा पेलेको विषयमा घण्टौंं साथीभाईसँग चर्चा गर्थे। अब टेलिभिजनमा पेलेको खेल हेर्न पाउनु वास्तवमै थापाका लागि सपना पुरा भए सरह थियो।
‘पेलेको बल लैजाने तरिका, विपक्षी पोस्टमा प्रहार गर्ने शैली गज्जबै थियो। उनको खुट्टामा बल पर्यो कि, मेरो मुटु फुकेर आउँथ्यो’, थापा अहिले पनि त्यो घटना सम्झिँदा हौसिने गर्छन– ‘मर्डेका कपमा फाइनल पुग्न नसके पनि मलेसियामा पहिलो पल्ट टेलिभिजन देख्नु र पेलेको खेल हेर्न पाउनु अविस्मरणीय क्षण थियो।’
मर्डेका कप खेलेर फर्किएपछि थापा पुनः कोलकोताको मोहन बगान क्लबमा आवद्ध भए। उनको त्यतिबेलाको चर्चित जर्सी नै थियो, २२ नम्बर। मोहन बगानबाटै व्यवसायिक फुटबल खेलिरहेको बेला एकदिन एउटा खबरले उनलाई निकै उद्धेलित पार्यो।
खबर थियो– मोहन बगानले अमेरिकाको चर्चित कसमस क्लबसँग फुटबल खेल्ने। त्यतिबेला कसमस क्लबमा पेलेलगायत थुप्रै अन्तर्राष्ट्रिय हस्ती आवद्ध थिए। अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट सन्यास लिएपछि अमेरिकामा फुटबल लोकप्रिय बनाउने उद्देश्यस्वरुप पेले सन् १९७२ देखि कसमस क्लबमा आवद्ध थिए।
पेले आबद्ध भएकै समय कसमस क्लबले आफ्नो लोकप्रियतालाई विश्वव्यापी बनाउने योजना बनायो। त्यही उद्देश्यका लागि उसले १९७७ देखि विश्व भ्रमण गर्ने निर्णय नै गर्यो। त्यही अभियानअन्तर्गत यो क्लब मोहन बगानसँग मैत्रीपूर्ण खेल खेल्न कोलकाता आउँदै थियो। त्यतिबेला यो खबरले भारतमा मात्र होइन, नेपाललगायत अन्य देशमा पनि आगो सल्किएझै हलचल ल्यायो।
श्याम थापालाई भने यो कुरा दुई महिनाअघि नै थाहा थियो। जुन दिन उनले कसमस क्लब कोलकाता आउने खबर पाए, त्यो दिन उनलाई राम्रोसँग निद्रै लागेनछ। ‘त्यो रात मेरो कल्पनामा पेलेको त्यही खेल घुम्न थाल्यो, जुन मैले ७ वर्षअघि मलेसियामा टेलिभिजनमा हेरेको थिएँ’, उनी भन्छन्।
त्यतिबेला मोहन बगानलाई प्रशिक्षण दिन्थे, पिके बनर्जी। उनकै निरिक्षणमा क्लबले दुई महिनाअघि नै टोलीलाई विशेष अभ्यासमा बोलाइसकेको थियो। त्यतिबेला पेलेसँग खेल्न पाइने कल्पनाले नै दंग परिसकेका थिए, थापा। उनी अहिले पनि त्यो घटना सम्झिदा रोमाञ्चित हुने गर्छन। भन्छन्–‘अभ्यास सकिनेबित्तिकै हाम्रो चर्चानै पेलेको खेललाई लिएर हुन्थ्यो।’
तर रमाइलो कुरा, बाहिर भने ठूलै बहसको विषय बनिसकेको थियो, कसमसले मोहन बगानलाई कति गोल हान्ला? त्यतिबेला धेरैको अनुमान थियो, कम्तिमा १० गोल। त्यसै कारण पनि प्रशिक्षक बनर्जीले अभ्यास सत्रमा आफ्ना खेलाडीलाई ‘डिफेन्सिभ अट्याक’ शैलीमा खेलाउँथे।
त्यतिबेला बनर्जीको सोच रहेछ, पेलेजस्ता धुरन्धर स्ट्राइकरलाई रोक्न ‘डिफेन्सिभ’ हुनु बाहेक अरु कुनै उपाय छैन्। बनर्जीको अभ्यास सत्रमा पेलेलाई कसरी राेक्ने भन्ने रणनीतिमै बढी कुरा हुँन्थ्यो।
त्यतिबेला कसमस र मोहन बगानबीचको खेलको मिति तय भइसकेको थियो, २४ सेप्टेम्बर १९७७। कसमस मोहन बगानविरुद्धको खेल खेल्न दुई दिन अघि नै कोलकाता आइपुग्यो। त्यो घटनाको प्रत्यक्षदर्शी थापा सम्झन्छन–‘२२ सेप्टेम्बरको राती सवा ११ बजे कसमस टोली डमडम विमानस्थल उत्रिँदा पेलेलाई स्वागत गर्न पुरै कोलकाताबासी सडकमा ओर्लिएका थिए। विमानस्थलमा यति ठूलो भीड थियो, सुरक्षाकर्मीहरूलाई भीड तह लगाउन धौ–धौ परिरहेको थियो।’
भारत खेल्न आएको कसमस टोलीमा पेले मात्र होइन, अन्य थुप्रै स्टार खेलाडी पनि समावेश थिए। जसमा सन् १९७० को विश्व विजेता ब्राजिलियन टोलीका कप्तान अल्बेर्टो, इटालीका जिनार्जियो चिनागलिया, इङ्ल्यान्डका केइथ, इडी, चार्ली, आट्केन र माइक डिल्लन, पेरुका रामोन मिफिन, युगोस्लाभियाका वार्नरोथ र डिटोमिर डिमिर्टि जेभिच, टर्कीका इरोल यासिनको विशेष उपस्थिति थियो।
रोचक कुरा, खेल हुने दिन जतिजति नजिकिँदै गयो, थापालाई खेलभन्दा पनि टिकटको समस्याले पिरोल्न थाल्यो। कसले दर्शकहरूलाई लगाइदिएछ, खेलाडीलाई भन्यो भने टिकट र पास सजिलै पाइन्छ। अब सबैजना उनको पछाडि! खेल हुने दिन दिउँसोसम्म उनी आफन्त र परिचित समर्थकलाई टिकट जुटाउन हस्याँङफस्याँङ गर्दै थिए।
‘नेपाल र दार्जिलिङबाट मात्र होइन, पढेर हुर्किएको देहरादुनबाट पनि टिकटको अनुरोध गर्दै मकहाँ आउने मान्छेको घुइँचो थियो। त्यतिबेला भारतमा मात्र होइन, नेपालका फुटबल समर्थक पनि टिकट किन्न पागलझैं दौडिरहेका थिए’, थापा भन्छन– ‘अझ हल्ला त एउटा टिकटको बदला स्कुटर दिएकोसम्म भयो।’
त्यतिबेला भारतमा भर्खरै स्कुटर लञ्ज भएको थियो। टिकटकै तनावका बीच उनी इडेन गार्डेनमा उत्रिदा त्यहाँको दृश्य देखेर सुरुमा पुरै हतोत्साही भए, जब ८० हजार दर्शकले एउटै स्वरमा ‘पेले–पेले’ भनेर कराए। ‘मेरो त दिमागै तरंगीत भयो’, उनी भन्छन्– ‘अझ रंगशालामा खेलाडीहरू बीच परिचय कार्यक्रम सकेर हात मिलाउन आएका पेलेलाई छुन पाउँदा मलाई सपनाजस्तै लागिरहेको थियो। हाम्रै टोलीका अन्य बंगाली खेलाडीले एकछिनसम्म पेलेको हात छोडेनन्।’
जब कसमसविरुद्ध खेल सञ्चालनका लागि रेफ्रिले बल सेन्टरमा राखे, स्ट्राइकर थापा अग्रपंक्तिमा उभिए। त्यतिबेला उनलाई देखेर पेले मुस्कुराइरहेका थिए। वास्तवमा त्यो खेल निकै राेचक रह्यो। सबैको अनुमानविपरित मोहन बगानले पेलेविरुद्धको त्यो ऐतिहासिक खेललाई २–२ गोलको बराबरीमा रोक्यो।
प्रशिक्षक बनर्जीको आदेशबमोजिम मोहन बगानका ३ डिफेन्डरले पेलेलाई बाधेर राखे। उनलाई गोल गर्न नदिने रणनीति यो खेलमा सफल पनि सावित भयो। तर, खेलको पहिलो गोल कसमसले नै गर्यो। त्यो गोल १७ मिनेटमा पेलेको पासमा ओभरल्यापिङमा निस्किएका ‘स्टपर’ अल्बेर्टोले गरे।
तर, त्यसको एक मिनेटपछि नै मोहन बगान गोल फर्काउन सफल भयो। सवैभन्दा आनन्दको कुरा, त्यो गोल श्याम थापाले नै गरे। उनले अक्बरले दिएको पासमा गोल गरेका थिए। त्यतिबेला बर्षाका कारण इडेन गार्डेनको मैदान चिप्लो थियो। त्यसैले थापा आफ्नो चिरपरीचित शैलीमा माछा चिप्लिएझैं बल बढाउँदै थिए, अल्बेर्टोले डिफेन्स–लाइनमा उनलाई ‘ट्याकल’ गर्ने प्रयास गरे।
तर, मैदान चिसो भएका कारण अल्बेर्टोलाई सोचे जति सहज भएन। उनले अल्बेर्टोलाई ‘डच’ दिँदै डिबक्समा बल छिराए। यतिबेला गोलकिपर यासिन उनलाई राेक्न अगाडी के बढ्दै थिए, थापाले १५ यार्डबाटै कसमसको गोलपोस्टमा तिखो प्रहार गरे। बलले सिधै चाली चुम्यो। त्यसपछि के चाहियो! इडेन गार्डेन एकाएक ठूलो आवाजमा गुन्जियो। अब सबै घरेलु समर्थक मोहन बगानको पक्षमा।
‘मलाई लाग्यो, मेरो फुटबल जीवन सफल भयो। पहिले दार्जिलिङ खेल्न जाँदा मेराे खेल हेर्न त्यहाँका केटाकेटीमात्र होइन, हजुरआमाको उमेरका बुढाबुढी मलाई छुन मैदानमा आउँथे,’ थापा भन्छन्– ‘यतिबेला मलाई युद्ध जितेझैं लागिरहेको थियो। मेराे गोलबाट हाम्रो टोलीमा जीतको उत्साह बढ्यो।’
२३ मिनेटमा हबिबको गोलमा मोहन बगानले पहिलो हाफमै कसमसलाई २–१ गोलले पछाडि छोड्यो। तर, दोस्रो हाफको ७० मिनेटमा गोल फर्काउदै कसमसले खेललाई २–२ गोलको बराबरीमा राख्न सफल भयो। यतिबेला सुधिर करमाकरको खराब ‘ट्याकल’ का कारण कसमसले पेनाल्टीको अवसर पाएको थियो, जसलाई कानिलियाले गोलमा परिणत गरे।
खेल सकिएपछि पत्रकारहरूले पेलेलाई सोधेछन्– ‘तपाईलाई मोहन बगानको कुन खेलाडी मन पर्यो।’ त्यतिबेला उनको उत्तर थियो– ‘२२ नम्बर ‘गुड’।’ सायद पेलेले खेलको दौरान श्याम थापाको खेल उभिएर हेरेका थिए होलान्! त्यसैले उनले थापाको खेलको तारिफ गरे। भोलिपल्ट भारतको सवै अखबारमा थापाको नाम छापियो, त्यो पनि पेलेको प्रशंसासहित।
‘म पत्रिका पढेर दंग परेँ’, उनी भन्छन। भोलिपल्ट दुवै टोलीका खेलाडीको सम्मानमा मोहन बगानले कोलकाताकै ग्रान्ड होटलमा पार्टीको आयोजना गर्यो। त्यतिबेला उनले पेलेसँग गफ चुट्ने मौका पाए। पेलेको सम्मानमा क्लबले नक्कली सुनको एउटा मुकुट पनि प्रदान गरेको थियो। त्यतिबेला भने पेलेले श्याम थापालाई सोधेछन्– के यो मुकुट सुनको हो?
सन् १०७० मा भारतलाई एसियन गेममा कास्य पदक जिताउन महत्वपूर्ण याेगदान गरेका भारतका यी पूर्व कप्तानकाे जन्म नेपालकाे गुल्मीमा भएकाे थियाे। उनी आफ्नाे खेल जीवनमा ‘ब्याक भली’ का कारण विशेष चिनिने गर्थे। २०३२ सालमा ब्वाइज युनियनले सहिद स्मारक लिगकाे उपाधि जित्दा उनी क्लबका मुख्य खेलाडी थिए। उनकाे खेल हेर्न रंगशाला भरिभराउ हुन्थ्याे। उनले सन् २००६ मा नेपालकाे राष्ट्रिय टाेलीलाई प्रशिक्षण पनि दिएका थिए।