कोरोना महाव्याधिको मारबाट मुक्ति पाउन सरकारले गर्नुपर्ने काम

सम्भवतः मानवजातिको उत्पत्तिपछि पृथ्वीको यतिठूलो भूभागमा एकैसाथ प्रभाव पार्ने कोरोना महाव्याधीको प्रकोपबाट ज्यान गुमाउनुभएका विश्वभरिका दुई लाख ७० हजार भन्दा बढी मानिसहरु र तीमध्ये विदेशमा रहनुहुने ८० भन्दा बढी नेपालीहरु सबैप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

यतिबेला हामी अत्यन्त सम्वेदनशील क्षणमा छौं । मानवजातिको अथवा कुनै पनि प्राणिको निम्ति आफ्नो प्राणभन्दा प्यारो चीज अरु केही पनि हुँदैन । त्यसैले यो महाव्याधीबाट हामीले आफ्नो जीवनको रक्षा कसरी गर्ने ? भन्ने प्रश्न नै यतिबेला सबभन्दा महत्वपूर्ण प्रश्न हो । संयोगले भनौं अथवा वातावरणीय अथवा परिस्थितिजन्य कारणले भनौं अहिलेसम्म नेपालमा कोरोनाको कारणले ज्यान गुमाउनुपरेको छैन ।

फेरि पनि यो कोरोनाबारे अझै वैज्ञानिक निष्कर्ष ननिस्किसकेको अवस्थामा यो कहिलेसम्म रहन्छ ? यसले कति क्षति गर्छ ? भन्ने कुनै ठोस निष्कर्ष छैन । कतिपय विज्ञहरुका भनाइअनुसार यो केही तल झरेजस्तो हुन्छ र फेरि माथि आउँछ र फेरि झर्छ । यही क्रमले झण्डै डेढ/दुई वर्ष पनि जान पनि सक्छ भनिँदैछ ।

नेपालकै सन्दर्भमा भन्ने हो भने अहिले थोरै मात्रै संक्रमितको संख्या देखिए पनि परीक्षणको संख्या हाम्रो अत्यन्त नगन्य छ । जबकि विश्वका थुप्रै देशहरुमा प्रति दशलाख ३० देखि ५० हजारसम्मको परीक्षण गरिएको छ भने हिजोको तथ्यांकअनुसार नेपालमा चाहिँ प्रति दशलाख जम्मा ५३४ जनाको पीसीआर विधिबाट परीक्षण गरेका छौं । किनकि त्यो नै बढी भरपर्दो मानिएको छ ।

सुदूरपश्चिम प्रदेश जहाँ एक लाखभन्दा बढी विदेशमा श्रम गर्ने नेपालीहरु आएको तथ्यांक छ तर त्यहाँको आजमात्रै समाचार आएको छ कि परीक्षण किटको अभावमा परीक्षण रोकिएको छ । त्यसैले हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन ।

कतिपय विज्ञहरुले भनेका छन्– हामीले ठीक ढंगले परीक्षण गर्न नसकेको कारणले गर्दा संक्रमितहरुको संख्या लुकेको पनि हुन सक्छ । त्यसैले हामीले प्रोक्सी परीक्षणको तरिकाले पनि हामीले अनुमान गर्नुपर्छ अर्थात् प्रतिमहिना सम्बन्धित क्षेत्रमा मृत्युदर के थियो अथवा नेपालमा के थियो भन्ने आधारमा पनि यो बीचमा बढ्यो किन घट्यो ? भन्ने तरिकाले पनि त्यसलाई अनुमान गर्न सकिँदो रहेछ ।

उदाहरणको निम्ति हालसालै इरान र टर्कीमा थोरै संख्या देखियो, उनीहरु ढुक्क भएर बसे तर पछि थाहै नपाइकन ह्वार्ह्वार्ति धेरै मानिसहरुको मृत्यु भयो । पछि बुझ्दा तिनीहरुको मृत्यु कोरोनाको कारणले भएको रहेछ । त्यसैले अरु तरिकाबाट पनि हामीले अनुमान गर्नुपर्छ । सरकार ढुक्क भएर बस्नु हुँदैन । तपाईं-हामी कोही पनि ढुक्क भएर बस्नु हुँदैन ।

कमजोर व्यवस्थापन

दुःखको कुरा गत मंसिरदेखि यो आउँदैछ भन्ने हामीलाई थाहा हुँदाहुँदै पनि हाम्रो तयारी कति कमजोर रहेछ त्यो हामी सबैले देख्यौं । यतिबेला आरोप-प्रत्यारोप गर्नु शोभनीय हुँदैन, त्यो चाहना पनि छैन । तर यथार्थ तथ्यबारे चाहिँ हामी अवगत हुनैपर्छ । हामीले आफैले आफैलाई ढाँटेर बस्यौं भने फेरि ठूलो क्षति हुने खतरा पनि रहन्छ । सामान्य स्वास्थ्यका उपकरणहरु, सुरक्षा उपकरणहरु, अस्पताल लगायतको व्यवस्थापन जुन ढंगले गर्नु पर्दथ्यो त्यो पुगेको रहेनछ भन्ने त हामीले देख्यौं । त्यसैले त्यतापट्टि हामी गम्भीर बन्नैपर्छ ।

सरकारको तर्फबाट बोल्नुपर्दा त हामीले सबै ठीक गर्‍यौं, सब ठीकठाक छ भन्नैपर्छ औपचारिकताको निम्ति तर हामीले आफ्नो व्रह्मलाई सोध्यौं भने ठीकठाक छैन । लकडाउन गर्नै पर्दथ्यो, सामाजिक दूरी कायम गर्नको निम्ति । विश्वव्यापी मान्यता पनि थियो र हामीले पनि गर्‍यौं ।

हामीसँग खुला सीमाना छ, ६० लाख भन्दा बढी नेपालीहरु विदेशमा छन् । त्यसैले अरुले जे गर्छन् हामीले पनि त्यही गर्नुपर्ने हाम्रो वाध्यता छ । एउटा लकडाउन हामीले गरेका छौं । अर्को हाम्रो सरकारले विदेशमा भएका आफ्ना नागरिकलाई भित्र नआऊ भनेर रोकेको छ । त्योदेखि बाहेक अरु सन्तोषजनक ढंगले चित्त बुझाउने ठाउँ छैन । यसबारे सरकारको ध्यान पुग्नेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।

विदेशका नेपाली व्यवस्थापन  

एउटा हामी गम्भीर बन्नैपर्ने विषय – वाध्यतावश विदेशमा श्रम गर्न गएका नागरिकहरुको ठूलो संख्या छ । उनीहरुको अत्यन्त विचल्लीको अवस्था छ । म सामाजिक सञ्जालमा पनि सक्रिय हुने गर्छु । त्यसैले मलाई रातीरातीसम्म कहिले माल्टाबाट फोन आउँछ, कहिले मध्य अमेरिकाबाट फोन आउँछ, कहिले मलेसियाबाट फोन आउँछ, कहिले भारतको गुजरात र गोवाबाट फोन आउँछ – हामी अलपत्र पर्‍यौं भनेर ।

त्यहाँको सरकारले भन्छ तिमीहरु जाऊ । गोवाको सरकारले अस्तिमात्रै सूचना जारी गरेर तिमीहरु हिँड यहाँबाट, हामी रेल ल्याउँछौं, तिमीहरुको सीमानासम्म पुर्‍याउँछौं भनेको छ । तर हाम्रो सरकारले त्यसबारे ठोस निर्णय गर्न सकेको छैन । सरकारलाई थाहा त पक्कै पनि छ यो विषयमा । उनीहरु अहिले पनि अलपत्र परेर बसेका छन् ।

आजमात्रै एउटा भिडियो भाइरल भएको छ । तपाईंहरु सबैले हेर्नुभएको होला । एकजना डाक्टरले शेयर गर्नुभएको भिडियोलाई मैले पनि सामाजिक सञ्जालमा शेयर गरेको थिएँ । त्यो सबैले हेरौं, सुनौं एकचोटि । त्यसबाट पनि हाम्रो आत्मा पग्लिएन, आँखाबाट आँशु आएनन् भने हामीले आफैंलाई सोध्नुपर्छ – हामी मानव हौं कि होइनौं ?

 एउटा नेपालीले हात जोडेर भनिराखेको छ – कहाँ जाऊँ ? जाने ठाउँ छैन, बस्न देऊ । उसलाई त्यहाँ हप्काइएको छ र भनिएको छ – हामीले बोलाएर आएका हौ र ? तिमी आफै आएका हौ । तिमीहरुलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौं जाऊ । यो यथार्थ हो । नेपालीहरुको यस्तो अवस्थामा हामीले सब ठीकठाक छ भनेर बस्न मिल्छ ?

ती विदेशमा रहने ६० लाख भन्दा बढी नेपालीहरुमध्ये अनुमान गरिँदैछ कि कमसेकम एक चौथाइ त पक्कै पनि विस्थापित हुन्छन् । मध्यपूर्वमा पनि महामारीको ठूलो समस्या छ, त्यसबाहेक आर्थिक मन्दी पनि छ, तेलको भाउ गिरेको छ ।

त्यो कारणले गर्दा रोजगारी गुमेर १५/२० लाख नेपाली यो वर्षभित्र नेपाल फर्कनेवाला छन् । प्रत्येक वर्ष थपिने पाँच लाख नेपाली युवाहरुको बेरोजगारी थपिँदा तिनको व्यवस्थापन हामीले ठीक ढंगले गर्न सकेनौं भने के हुन्छ ? त्यतापट्टि अहिले नै ध्यान दिइयोस् भन्ने म आग्रह गर्छु ।

तिमीहरु नआऊ भनेर सुख पाइँदैन । हाम्रो संविधानले भनेको छ – कोही पनि नेपालीलाई देशनिकाला गरिनेछैन । नआऊ भन्नु देशनिकाला गरेजस्तै हो । हाम्रो संविधानको धारा ४५ ले त्यही भन्छ । उताबाट जाऊ भनेको छ हामी नआऊ भनेका छौं ।

के ती आफ्नै नागरिकलाई हामीले अनागरिक बनाउने ? यो विषयमा गम्भीरतापूर्वक ध्यान दिइयोस् । बेरोजगार बनेर हाम्रा युवाहरु यहाँ आउँदैछन्, तिनीहरुको व्यवस्थापन के कसरी गर्ने हो ? भन्ने विषयमा रातदिन हामी लाग्नुपर्ने आवश्यकता छ । त्यतापट्टि ध्यान दिइयोस् ।

श्रमिकका समस्या

यो बीचमा केही अरु पनि गम्भीर प्रकृतिका कमजोरीहरु भए । जो ज्याला मजदूरी गरेर खाने मानिसहरु थिए, जो अस्थायी मजदूरी गर्ने मानिसहरु थिए, तिनीहरुको संख्या ७२ लाख श्रमिकहरुमध्ये ६० प्रतिशत छ भनिन्छ । अर्थात् ४०/५० लाख अस्थायी प्रकृतिका श्रमिकहरु जो गाउँबाट विस्थापित भएर शहर पसेका थिए । हामीले कुनै व्यवस्था नगर्दा उनीहरु, गर्भवती महिलाहरु कस्तो बेहाल अवस्थामा रुँदै गाउँ फर्के भन्ने तपाईंहामी सबैले देखेका छौं । के त्यतापट्टि हाम्रो कर्तव्य बन्दैन ? सरकारको कर्तव्य बन्दैन ? हामीले त्यसबारे के गर्‍यौं ? तिनलाई सम्बन्धित ठाउँमै व्यवस्थापन गर्न सक्नुपर्दथ्यो ।

नसके तिनीहरुलाई स्थानीय तहसँग समन्वय गरेर हामीले व्यवस्थापन गरेर पठाइदिनुपर्दथ्यो । तर हामीले टुलुटुलु हेरेर बस्यौं । यहाँ विपन्न नागरिकहरु, अपांगता भएका मानिसहरु, वृद्धवृद्धाहरु, असक्तहरुको निम्ति सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्दथ्यो, गर्न सकेका थिएनौं । तर कमसेकम यस्तो बेला हामीले गर्न सक्नुपर्दथ्यो ।

कमसेकम हामीसँग स्थानीय तह छ र अहिले स्कुल कलेजहरु बन्द छन्, शिक्षकहरु छुट्टिमा बसेका छन्, तिनलाई मात्रै परिचालन गरेर सबै राजनीतिक दलहरुको सर्वदलीय संयन्त्र बनाएर प्रत्येक टोलटोलमा खटाउने हो भने- अहिलेको सञ्चारको युगमा पैदलै हिँडेर जानु पनि पर्दैन, ठाउँमा पुग्नु पनि पर्दैन – हामीले यथार्थ तथ्यांक अभिलेखीकरण गर्न सक्थ्यौं । बैंक खाता खोलेर बैंकमार्फत् प्रत्येक त्यस्ता विपन्न र अशक्त मानिसहरुको निम्ति घरघरमा पैसा पठाउन सक्थ्यौं । त्यतापट्टि पनि हाम्रो ध्यान गएको छैन र यो समस्या सहजै हल हुनेवाला छैन ।

आवश्यक छैन एसईई परीक्षा 

झण्डै ६४ लाख भन्दा बढी विद्यार्थीहरु अहिले लकडाउनमा बसिराखेका छन् । युवावस्थाको र जुन कलिलो उमेर उनीहरुको हुन्छ, उनीहरुलाई ठीक ढंगले ‌ओरिएन्टेसन गरिएन भने उनीहरुमा मनोरोग आउने गम्भीर खतरा पनि रहन्छ ।

अलि सम्पन्न हुनेहरुले त डिजिटल प्रविधिको प्रयोग गरेर उनीहरुलाई भुलाएका छन्, पढाएका छन् तर जो गरीब र मध्यमवर्गका मानिसहरु हुन्, जहाँ प्रविधिको पहुँच छैन त्यहाँ उनीहरु यति लामो समय त्यत्तिकै खालि बस्नुपर्दा ती युवाहरु, हाम्रा छोराछोरी, बाबुनानीहरुको अवस्था के होला ? त्यसको हामीले के व्यवस्था गर्दैछौं ?

अन्यथा नमान्नुहोला – मैले मिडियामा सुनेको छु हाम्रा शिक्षामन्त्रीले खुलेको भोलिपल्टै परीक्षा हुन्छ भनेर आतंकित बनाइराख्नुभएको छ । के परीक्षा लिने ? विचरा उनीहरु आफै मनोरोगले ग्रसित हुने खतरा भइसक्यो । त्यसैले म त सुझाव दिन चाहन्छु कमसेकम एसईईको परीक्षा लिनु आवश्यक नै छैन ।

यसै पनि हाम्रो माध्यमिक शिक्षा १२ कक्षासम्म भइसकेपछि १० कक्षाको परीक्षाको खास अर्थ पनि रहँदैन । हामी ग्रेड सिस्टममा पनि गइसकेका छौं, अहिले नै उनीहरुलाई परीक्षा हुँदैन आ-आफ्नो स्कुलले जे जति नम्बर दिन्छ त्यसैले आधारमा त्योभन्दा उच्च शिक्षाको व्यवस्था गर भन्दिने हो भने कमसेकम ती हाम्रा छोराछोरी, नातिनातिनाहरु निस्फिक्रि भएर बस्न सक्छन् । यस्ता कुराहरुमा पनि ध्यान पुगोस् भन्ने मेरो आग्रह छ ।

कोरोनापछिको महामन्दी र नेपाल

आर्थिक क्षेत्रमा कति नोक्सान पर्छ भन्ने विषयको त सायद हामीलाई सरकारबाट तथ्यहरु पनि आउला । प्रि-बजेट छलफल, बजेट छलफल हुँदा पनि हामी छलफल गरौंला । तर प्रारम्भमा मैले अहिले भन्नैपर्छ अबको अर्थतन्त्र साँच्चै नै, विश्वव्यापी रुपमा नै भनिँदैछ, दोस्रो विश्वयुद्धपछिको सबभन्दा ठूलो मन्दी हुँदैछ ।बेलायतको बैंक अफ इंग्ल्याण्डले त हिजोमात्रै घोषणा गर्‍यो- ३०० वर्षअघि, जतिबेलादेखि आर्थिक अभिलेखीकरण शुरु भएको थियो त्यतिबेलादेखिको सबभन्दा ठूलो संकट बेलायतको अर्थतन्त्रले व्यहोर्दैछ ।

त्यसैले हाम्रो जस्तो कमजोर अर्थतन्त्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । दुई खर्बदेखि पाँच खर्बसम्म हाम्रो अर्थतन्त्रमा नोक्सान हुन्छ भन्ने अनुमान छ । त्यसको निम्ति हामीले तयारी कसरी गर्छौं ? मुख्य रुपमा बीसौं/पच्चिसौं लाख बेरोजगार युवाहरु थपिँदैछन्, तिनको व्यवस्थापन कसरी गर्छौं ? खाद्य अभाव हुँदैछ, त्यसको निम्ति कृषिलाई कसरी पुनर्जागरण गर्छौं ? स्वास्थ्यसम्बन्धी हाम्रो कमी हामीले देखिसकेका छौं । त्यसैले रोजगारीकेन्द्रित भएर, कृषिकेन्द्रित भएर, शिक्षा र स्वास्थ्यकेन्द्रित भएर हाम्रो यो वर्षको नीति, कार्यक्रम, योजना र बजेट ल्याउनुपर्छ ।

अन्तर्राष्ट्रिय हिसाबले पनि यसले ठूलो परिवर्तन ल्याउँदैछ । कतिपयले भन्दैछन् अब पश्चिमको वर्चश्वको युग सकियो र पूर्वतिर आयो पनि भनिँदैछ । आजको भोलि नआउला तर प्रष्ट संकेत के देखियो भने अब विश्वमा आर्थिक केन्द्र पनि फेरिन्छ । त्यसैले लगानीका क्षेत्रहरु पनि फेरिन्छन् र मूल्य शृङ्खला पनि भत्किन्छ । खासगरी, चीन र अमेरिकाबीच नयाँ ढंगको शीतयुद्ध देखिने सम्भावना देखिँदैछ ।

भारतसँगको हाम्रो खुला सीमाना आदिको कारणले आर्थिक रुपमा हामी अन्तरसम्बन्धित र परनिर्भर छौं । त्यसैले त्यो हिसाबले हामीले ठीक ढंगले बुद्धि पुर्‍याउन सक्ने हो भने, चीन-अमेरिका-भारतसँग नयाँ प्रकारको सम्बन्ध विकास गरेर भूराजनीतिको सन्तुलन गर्दै यो संकटपछिको पुनर्निर्माणमा हामीले त्यहाँबाट विस्थापित भएका लगानीका जुन् सम्भावना हुन्छन् हाम्रो देशमा आकर्षित गर्ने र नयाँ बनेका जुन् मूल्य शृङ्खला हुन्छन् त्योसँग जोडेर हाम्रो अर्थतन्त्रको नयाँ ढंगले विकास गर्ने पनि सम्भावना हुन सक्छ । त्यस हिसाबले पनि हाम्रो ध्यान पुग्न सकोस् ।

हामी सबै देशभक्त हौं । त्यसैले फेरि एकले अर्काको राष्ट्रभक्ति र देशभक्तिमाथि शंका गरेर हामीले अनावश्यक ढंगले विभाजित हुने काम नगरौं । कमसेकम यो सदनको क्रममा विषयबस्तु उठ्नेवाला छ । अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक जुन खिचातानी छ यो अत्यन्त मुखरित भएर आउनेवाला छ । किनकि एमसीसीको विषय हामीले हल गरिसकेका छैनौं ।

सरकारको बिग्रँदो छवि

अब एउटा गम्भीर विषय – फेरि पनि अन्ततः सबै कुराको फैसला राजनीतिले नै गर्छ । तर यतिबेला राजनीति र त्यसको नेतृत्व गर्ने यो सबभन्दा उच्च प्रतिनिधिसंस्था, यसको नेतृत्व गर्ने निर्वाचित सरकारको छवी राम्रो छैन । अहिले हामीले बोलेको कुरालाई कसैले पनि विश्वास गर्दैन । राजनीतिकर्मी, सांसद भनेका सबै भ्रष्ट, गैरजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको जुन बिम्व बनेको छ यो अत्यन्त खतरनाक छ ।

हामी कति सत्य हो, कति असत्य हो हामी आफैंले मम भनौं । तर आम जनतामा यस्तो धारणा बनिसकेपछि, राजनीतिप्रति नै मानिसको अविश्वास, आशंका, वितृष्णा फैलियो भने त्यसले ठूलो खतरा ल्याउन सक्छ । तपाईं हामीले लडेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो नै खतरामा परेर प्रतिगमनतिर जाने खतरा पनि हुन्छ । त्यसैले राजनीतिलाई ठीक ट्रयाकमा कसरी ल्याउने भन्नेतिर हामीले ध्यान दिनु जरुरी छ ।

देशको प्रधानमन्त्री देशको सबैको अभिभावक हो, यो लोकतन्त्रको रक्षक हो नि । उसैले अर्को पार्टी फुटाउनलाई मैले यो अध्यादेश ल्याएको हो भनिएको हो भने त्यो गम्भीर प्रश्न हो । के यो नैतिकताको विषय बन्दैन ? पछि जो सांसदको कुरा आयो । कति स्वेच्छाले आउनुभयो होला त्यो बेग्लै पाटो हो । तर एउटा कमनसेन्सले पनि भन्छ नि ।

प्रमको राजीनामा, जिम्मा नयाँ पुस्तामा

म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । उहाँले यदि साँच्चै नै आत्मनिरीक्षण र आत्मालोचनाको प्रक्रिया शुरु गर्नुभएको हो भने उहाको यो जुन गम्भीर गल्ती कमजोरी र एक हदसम्म उहाँको संलग्नता वा उहाँको निकटको संलग्नतामा गम्भीर लोकतन्त्रविरोधी गतिविधि, हर्कत भएको छ, कानूनविरोधी गतिविधि भएको छ त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनै पर्छ । त्यसलाई कुनै पनि प्रकारले संरक्षण दिनु हुँदैन । कानूनी तरिकाले त हारजीत गर्न पनि सकिन्छ । आश र त्रास देखाएर संस्थाहरुलाई प्रभावमा पारेर यताको कुरा उता पनि पार्न सकिन्छ ।

राजनीतिमा नैतिकता भन्ने धेरै ठूलो कुरा हुन्छ । त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले जुन खालको जुन खालको उचाइ प्राप्त गर्नुभएको छ, उहाँसँग मेरो विनम्र आग्रह छ, हामीले सत्तामा कति समय बस्यौं भन्ने आधारमा मान्छेले मूल्यांकन गर्दैन । यो देशमा ३८ जना प्रधानमन्त्री भइसके, कसको सम्झना गर्छ मान्छेले ? वीपी कोइराला र एकाध जनाको मान्छेले सम्झना गर्छ । अरु धेरैको त नाम पनि आउँदैन । म पनि प्रधानमन्त्री भएको मान्छे, मलाई थाहा छ नि मान्छेले कति बेलासम्म सम्झन्छन् । त्यसैले कुर्सीमा बस्दैमा ठूलो होइँदैन, पद ठूलो होइन ।

मान्छेले के सत्कर्म गर्‍यो त्यसको आधारमा, महात्मा गान्धी कहिल्यै कुर्सीमा बसेनन् तर उनलाई सम्झन्छन् मान्छेहरुले । जयप्रकाशनारायण कहिल्यै बसेनन्, उनलाई सम्झन्छन् मान्छेहरुले । हाम्रै देशमा इतिहासमा गौतम बुद्ध युवराज थिए, गद्दीमा बसेर रजाइँ गर्न सक्थे, छोडेर गए, उनी महान् भए । तर उनका पिताको नाम सोध्यौं भने उनका पिता राजा थिए, उनको नाम कसैले पनि सम्झँदैन । त्यसैले कुर्सीमा बसेर, सत्ताको प्रयोग गरेर महान् भइँदैन । नैतिक आचरण ठूलो हुन्छ ।

यसनिम्ति मेरो सम्माननीय प्रधानमन्त्रीजीसँग आग्रह छ – तपाईं जुन उचाइमा पुग्नुभएको छ त्यहीँ रहनुहोस् । तपाईंले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि पनि अन्याय भएको छ । तपाईंले रोगले जीर्ण भएको शरीरलाई आराम दिनुपर्छ । यो लोकतन्त्रलाई बचाएर, तपाईंको आफ्नै छवीलाई पनि बचाएर अघि बढ्नको निम्ति तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै उचित निकास हुन्छ ।

त्यसले नै समाजलाई, देशलाई अगाडि बढाउन सक्छ र तपाईंको उचाइ पनि कायम रहन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन सक्छ । प्रश्न उठ्छ, उहाँपछि विकल्प के हुन्छ भन्ने छ । हामी पूर्वप्रधानमन्त्रीहरु सबैले कुनै पनि प्रकारको इच्छा आकांक्षा नराखौं । हामी दावेदार नबनौं । हामीले दिशानिर्देश गरौं । सहयोगको भावना राखौं । राजनीतिबाट अलग्गिने, सन्यास लिने भनेको होइन । राजनीति महत्वपूर्ण विषय हो । देशको, सम्पूर्ण समाजको नेतृत्व गर्ने राजनीतिले नै हो ।

त्यसैले राजनीतिबाट सन्यास लिएर सुख पाइँदैन । यसमा त असल मान्छेहरु, सक्षम मान्छेहरु ल्याउनुपर्छ । तर हामी ६०/६५ वर्ष उमेर नाघिसकेका मान्छेहरुले लोभ नगरेर प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहने अथवा प्रधानमन्त्रीको दावेदार हामी नबन्ने र हामीले अरुलाई सघाउने, नयाँ पुस्तालाई अगाडि ल्याउने, पुस्तान्तरण गर्ने दिशातिर हामी गयौं भने देशले निकास पाउँछ, राजनीतिले निकास पाउँछ, लोकतन्त्र सुनिश्चित हुन्छ । मलाई यही बाटो नै उपयुक्त लाग्छ ।

यस सन्दर्भमा हामीले हिमाल, पहाड, तराई/मधेशलाई जोडेर देशको राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई सुशासन र समृद्धिको लिएर जाने हो भने बहुदलीय लोकतन्त्रभित्र प्रतिस्पर्धाको सँगसँगै न्युनतम कुराहरुमा राष्ट्रिय सहमति गर्ने ढंगले जानुपर्छ ।

आवश्यकता मेलमिलापको

वीपी कोइरालाले पनि हुन त कुन परिवेशमा भन्नुभयो राजासँगै मेलमिलाप त मलाई उपयुक्त लाग्दैन तैपनि राष्ट्रिय विषयमा एक हौं भन्ने उहाँले कुरा राख्नुभएको थियो । वीपी कोइराला, पुष्पलाल, रामराजाप्रसाद सिंह उहाँहरुको हामीले जुन सम्मान गर्छौं त्यो उहाँहरु ठूलो पदमा धेरै समय बसेर होइन ।

वीपी जम्मा १८ महिना बस्नुभयो, पुष्पलाल कहिल्यै पनि सत्तामा बस्नुभएन, रामराजाप्रसाद सिंह पनि एकचोटि राष्ट्रिय पञ्चायतमा स्नातकबाट निर्वाचित हुने बाहेक कहिल्यै पनि सत्तामा रहनुभएन ।

तैपनि हामीले उहाँहरुको सम्मान गर्छौं । त्यसैले उहाँहरुको स्पिरिटलाई हामीले कदर गर्दै काँग्रेस, कम्युनिष्ट, समाजवादी र पहिचानवादी सबै शक्तिहरुको बीचमा राष्ट्रिय मेलमिलाप कायम गर्नको निम्ति नयाँ ढंगले अगाडि बढौं । त्यसैक्रममा नै अहिले हामीले जुन जनता समाजवादी पार्टी निर्माण गरेका छौं यो एउटा राम्रो लोकतान्त्रिक स्पेस तयार होस् भन्ने हाम्रो आग्रह छ ।

कुनै पनि अवस्थामा तपाईंहरुको यो सरकार गिरोस् र फेरि हामीले च्याँखे थापेर सरकारमा जाऊँ भन्ने हाम्रो कुनै पनि मनसाय छैन, हुन सक्दैन । तपाईंहरुले नेतृत्व परिवर्तन गरेर ठीक ढंगले आफ्नै पार्टीका असल मान्छेलाई अगाडि बढाउनुहोस् । पाँच वर्षका लागि तपाईंहरुलाई जनताले जनादेश दिएका छन् । हाम्रो त्यहाँ कुनै पनि खालको दावी हुँदैन । तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर अगाडि जाऊँ ।

त्यसैले अब बल हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूकै कोर्टमा छ । उहाँले नै यसबारेमा सोचेर उचित निर्णय लिनुहुनेछ । भनिन्छ – शिखर चढ्न सजिलो हुन्छ, तर शिखरमा टिक्न गाह्रो हुन्छ । उहाँ अहिले शिखरमा हुनुहुन्छ । कसरी त्यहाँ टिक्ने हो उहाँले सोच्नुहुनेछ । हामीले त सुझाव दिने हो । किनकि घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पिलाउन सकिँदैन ।

 

(२०७७ बैशाख २६ गतेको प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री डा. भट्टराईले गरेको सम्बोधनको अंश)

प्रकाशित मिति: : 2020-05-09 19:04:00

प्रतिकृया दिनुहोस्