तत्कालिन माओवादीले गरेको शसस्त्र द्वन्द सकिएको करिब १५ वर्ष पुगिसक्यो तर आज पनि द्वन्दका बाछिटाहरुले निरन्तर चोट दिइरहेका छन्। युद्धका समयमा हतियार र बिस्फोटक सामाग्रीको उचित ब्यबस्थापन नहुँदा समय समयमा निर्दोष सर्वसाधारणले ज्यान गुमाउनु परिरहेको छ। उतिबेलाका हतियार बोक्नेहरु सम्वेदनशिल नहुँदा समस्या कायम छ। द्वन्दको पुरानो घाउले रोल्पामा बेलाबेलामा बल्झिरहन्छ। नयाँ नयाँ चोट थपिरहन्छ। रोल्पालीहरुले २४ वर्षअगाडि सुरु भएको द्वन्दको घाउँ कहिलेसम्म बोक्नु पर्ने हो केहीटुंगो छैन।
बैसाख १८ गते रोल्पा त्रिबेणी गाउँपालिकामा बम बिष्फोट हुँदा स्थानिीय १४ वर्षिय नोखिराम डागी, ११ वर्षिया बिमला खत्री, ५ बर्षिय बिजय खत्री र १३ बर्षिय गौरव नेपालीको मृत्यु भयो। शान्ति प्रकृया यता तत्कालिन माओवादीले हतियार बुझाएको भए पनि बिभिन्न समयमा बेबारिसे बम बिष्फोटमा ७ जना बालालिकाको मृत्यु भएको छ भने ३ बालबालिका घाइते भएका छन्। सशस्त्र द्वन्द सकिएपछि जन्मिएका बालबालिकाले समेतयुद्धको परिणाम भोगिरहेका छन्।
मानव अधिकारवादी घनस्याम आचार्यका अनुसार द्वन्दका समयमा पनि बेबारिसे बमबाट बालबालिकासंगै धेरै सर्वसाधारणले ज्यान गुमाएका थिए। ‘बाल सैैनिकका रुपमा गएका अनि सुरक्षाकर्मीले पक्राउ गरेर र भिडन्तमा पनि मरेका निदाष रोल्पाली मारिएका हुन्।’ उनका अनुसार युद्धरत पक्षबाट सो समयमा सामान्य युद्धको नियम समेत पालना भएको देखिदैन। ‘राज्य फेरि एकपटक गम्भिर बन्नु पर्छ।’