आफ्ना लागि त कीराफटयाङ्ग्रा पनि बाँच्छ । अरूका लागि बाँच्नेहरू नै महान हुन्छन् । यस धर्तीमा अरूको हितमा काम गर्नेहरूको कमी छैन । वास्तवमा समुदायलाई सहयोग गर्नेहरू नै जीवित देवता हुन् । हाम्रा लागि दुई जना पूर्व गोर्खा सैनिकहरू लमजुङका चन्द्रबहादुर गुरुङ र बेलायती नागरिक टोम लेन्ग्रिज भगवान् बन्न पुग्नु भयो ।
लेन्ग्रिज र गुरुङ मितेरी साइनोमा बाँधिनु भएको थियो । जागिरबाट अवकाश पाएपछि नेपालका दुर्गम गाउँमा शिक्षा विकास गर्न उहाँहरूले पाहार ट्रष्ट खोल्नुभयो । ट्रष्टले हाम्रो ताङतिङ गाउँमा उल्लेखनीय सहयोग गरेको छ ।
२०५२/०५३ सालतिर ट्रष्टका एक जना संस्थापक पूर्णबहादुर लामा प्रधानपञ्च तथा हिमालय मिलन माध्यमिक विद्यालयका संचालक समिति अध्यक्ष हर्कजङ गुरुङको पहलमा पाहार ट्रष्ट नेपालले हाम्रो गाउँमा विद्यालय भवन बनाउन सहयोग गर्नुभयो। ताङतिङका अर्का मनकारी सहयोगी हुनुहुन्छ– आयल अफ मेन बेलयातका हाउडग्रिन (जो पछि पाहार ट्रष्ट बेलायतका अध्यक्ष पनि बन्नु भयो ।) उहाँ तत्कालीन समयमा माइकल स्कुल बेलायतका प्रधानाध्यापक हुनुहन्थ्यो । उहाँ ताङतिङ भ्रमणमा आउँदा स्यान्ट थोमस प्राथमिक विद्यालयका प्रधानाध्यापक जोन रेलीको पत्र साथमै ल्याउनुभएको थियो । त्यस पत्रमा हाम्रो विद्यालयसँग मितेरी साइनो (पार्टनर स्कुल) गाँस्ने प्रस्ताव थियो । त्यो सुखद प्रस्ताव पढेर हामीले धन्यवादसहित जवाफ पठायौं ।
उताबाट आएको पत्रमा विद्यालयको इमेल ठेगाना पनि थियो । पोखरा झरेका बेलामा म त्यसमै ताङतिङका हालखबर पठाउँथें । त्यसबेला पोखराको चिप्लेढुङ्गाको होटल सुनकोसी छेउमा प्रतीक्षा कम्युनिकेशन थियो । लेकसाइडमा पनि कतैकतै मात्र साइबर क्याफे थिए । पृथ्वीनारायण क्याम्पसको जिआइएस ल्याब भूगोल विभागमा पनि इन्टरनेट सुविधा थियो । म प्रायः प्रतीक्षा कम्युनिकेशनमा जान्थें ।
मैले जोनरेलीलाई पटकपटक इमेल मार्फत अनुरोध गर्दै ताङतिङ घुम्ने निम्तो दिएँ । ताङतिङमा आजको जस्तो मोबाइल फोन, इन्टरनेट केही थिएन । इमेल वा फोन गर्न दिनभर हिँडेर पोखरा पुग्नुपथ्र्यो ।
त्यही मितेरी सम्बन्धले गर्दा हाम्रा विद्यालयका विद्यार्थीबीच पत्रमित्रता गाँसियो । विद्यार्थीका पत्र प्रायः हुलाकबाट आउजाउ हुन्थ्यो । कहिलेकाहीँ चिठी स्क्यान गरेर इमेलमा पनि पठाउँथ्यौं । मितेरी विद्यालयका हामी शिक्षक र विद्यार्थीबीच शिक्षण विधि, आफ्ना गाउँठाउँ र संस्कृतिका विषयमा आदानप्रदान गथ्र्यौं ।
मितेरी सम्बन्धले मलाई सूचना, संचार र प्रविधिको नजिक पु¥यायो । इन्टरनेटले शैक्षिक विकासका काममा पनि उत्तिकै सहयोग गरेको छ । पाहार ट्रस्ट नेपाल र हामी गाउँले मिलेर बनाएको विद्यालय भवनको उदघाटनमा मितेरी स्कुलका प्रधानाध्यापक जोनरेली आउनुभयो । यसरी २०५७ सालमा पहिलो पटक हाम्रो गाउँमा पाइला टेक्नुभएका जोनरेली अन्नपूर्ण हिमाल जस्तै उज्याला गाउँलेको मायामा चुर्लुम्म डुब्नु भयो ।
उहाँले एसएलसी छात्रावास भवन लगायत धेरै काममा सहयोग गर्नुभयो । उहाँ बीस पटक हाम्रो गाउँ आउनुभयो । उहाँले ताङतिङका मात्र होइन, अन्यत्रका भाइबहिनीलाई पनि पढ्न सहयोग गर्नु भएको छ ।
हाम्रो ताङतिङ र बेलायतका तीन गाउँबीच पनि मितेरी सम्बन्ध गाँसिएको छ । विसं २०६४ मा ताङतिङ निवासी क्याप्टेन गौबहादुर गुरुङ र बेलायतमा बस्ने ताङतिङेहरूको सहयोगमा बेलायतका गाउँहरू डेबडेन, डेबग्रिन र विम्बिशसँग मीत लगाइएको हो ।
बेलायतमा रहेको ताङतिङ मितेरी संगठनले हाम्रो गाउँको बाल विकास केन्द्र, सामाजिक कल्याणकारी कार्य, शिक्षा विकास, पर्यटन विकास, दुई गाउँबीचको सांस्कृतिक आदानप्रदानमा पनि सहयोग गरेका छन् ।
म फुर्सदमा ताङतिङ र मितेरी गाउँका खबर आदानप्रदान गर्दथें । साथै मितेरी गाउँहरूले ताङतिङमा गरेका सामाजिक काममा पनि सक्रिय सहयोग गर्थें ।
यसरी मितेरी विद्यालय, मितेरी गाउँमा सम्पर्कमा रहिरहन र गाउँको शैक्षिक, सामाजिक अवस्था र प्रगतिबारे प्रतिवेदन बुझाउन पनि इन्टरनेट चाहियो । साथै संचार र प्रविधिको प्रयोगले विद्यालय शिक्षण सुधार गर्नुपर्ने भयो । मितेरी स्कुल र गाउँबाट आएका इमेलको रेस्पोन्स गर्न ल्यापटप बोकेर कहिले एक घण्टा उकालो चढेर नौचुडाँडामा पुग्थें त कहिले झिझेडाँडामाथिको भीरमा ।
त्यो बेला म स्काई फोनको सिम चलाउँथे । कहिलेकाहीँ शनिबार इमेल चेक गर्न हिँडेरै पोखरा पुग्थें । मैले विदेशी साथी र विदेशमा बसेका साथीबाट सूचना प्रविधिको महत्व राम्रोसँग बुझें ।
विसं २०६६ मा मितेरी गाउँको निम्तोमा एक महिना बेलायत घुम्ने अवसर मिल्यो । असारे स्कुले बिदामा बेलायतका विद्यालय, कृषि फार्म, ऐतिहासिकस्थल लगायतमा घुमफिर गरें । उताबाट फर्केपछि गाउँको विद्यालय सुधार्न कम्प्युटर कक्षा र इन्टरनेट जडानमा लागेंँ।
त्यसो त २०६६ सालमै म्याग्दीका सामाजिक अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा हाम्रो विद्यालयमा इन्टरनेट जोडेका थियौं । त्यो नै ताङतिङमा जडान गरिएको पहिलो इन्टरनेट थियो । इन्टरनेटबाट शिक्षक, विद्यार्थी र गाउँलेलाई फाइदा पुग्यो । शिक्षणमा प्रयोगका साथै विदेशमा रहेका इष्टमित्रसँग स्काइपमा कुराकानी गर्न र गाउँका खबर सुनाउन पनि सजिलो भयो ।
दुःखको कुरा त्यसरी जडान भएको इन्टरनेट प्राविधिक ज्ञान र मर्मत नहुँदा वर्ष दिनभन्दा बढी समय टिकेन । त्यसैले भरपर्दाे र वैकल्पिक बाटो खोज्दै हिँडे म । विसं २०६७ मा नेपाल टेलिकमको एनटी सेटेलाइट फोनसहित फेरि इन्टरनेट जडान गरियो । महावीरको वायरलेस इन्टरनेटभन्दा यसको स्पिड र सेवा दुवै राम्रो भयो ।
इन्टरनेटको सहयोगमा विद्यालय शिक्षणमा आइसिटीको प्रयोग गरियो । गुगलमा शैक्षिक सामग्री खोज्न पनि सजिलो भयो । मितेरी स्कुल र गाउँसँग प्रभावकारी संचार सम्पर्क भयो । तर, समस्या आउँदा टेलिकमका प्राविधिकले समयमै आएर मर्मत नगरिदिँदा यसलाई दिगो रूपमा चलाउन सकिएन ।
फोनको कुरा गर्दा, विसं ०५४/०५५ सालमै स्मार्ट टेलिकम प्रालिबाट हाम्रो गाउँमा सोलार प्यानल राखेर सात सेट टेलिफोन लाइन बाँडिएको थियो ।
विसं २०७० कात्तिकमा अध्ययन गर्न म कोरिया पुगें । अध्ययन सकेर २०७१ साल चैतमा ताङतिङ फर्के । म गाउँमा आउँदा कम्प्युटर ल्याब, इन्टरनेट सबै बन्द अवस्थामा थिए । मितेरी स्कुल ‘मेडस्टोन ग्रामर स्कुल फर गर्ल’को आर्थिक सहयोगमा गोरेटो नामक प्रोभाइडर प्रेम दूराबाट पुनः सोलारसहित इन्टरनेट जडान ग¥यौं । त्यसैगरी संरक्षण क्षेत्र व्यवस्थापन उपसमिति कार्यालय ताङतिङ र संरक्षण युवा क्लबको कार्यालय घ्याम्रंगमा पनि नमस्ते कोरियाको सहयोगमा इन्टरनेट जडान गर्न मद्दत गरें ।
विसं २०६६ मा ताङतिङपारि पार्चेमा नेपाल टेलिकमले टावर ठड्याएपछि ताङतिङ पनि मोबाइल फोनबाट विश्वसँग कनेक्ट भयो । विसं २०७०÷०७१ बाट मोबाइलमा इन्टरनेट सेवा शुरू भयो तर टेलिकमको सेवा भरपर्दाे भएन । जब एनसेलले २०६९ सालमा पार्चेमा रिपिटर टावर राख्यो तब ताङतिङमा पनि संचार सुविधा राम्रो भयो ।
संचार सुविधा नहुँदा गाउँको खबर पुर्याउन छिमेकी गाउँहरू सिक्लेस, याङ्जाकोट र पोखरासम्म हिँडेर पुग्नुपथ्र्यो । समय बदलियो, आज सबैका हत्केलामा मोबाइल फोन चल्छन् । इन्टरनेट मार्फत कोठाबाटै संसार डुल्न सक्ने भएका छौं ।
हामीले यहाँसम्म आइपुग्न निकै संघर्ष गर्नु प¥यो । गाउँमा इन्टरनेट जडान गर्दाका संघर्ष सम्झँदा अहिले आफैंलाई कथा जस्तै लाग्छ ।
(गुरुङ हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन् ।)
यो पनि हेर्नुहोस्