कविता
तिमीले आफ्नो शक्तिको दुन्दुभि बजायौं
यतिका वर्षसम्म
पाइलैपिच्छे धम्की र दासता मात्र दियौं
हो मलाई थाहा छ -तिमीले धेरै वर्ष मीठो खायौं
तिम्रो भुँडी स्वयम् प्रमाण छ
तर यसो फुर्सदमा सुँघी हेर्नु
तिम्रो स्वादिष्ट भोजनमा
मेरो रगत र पसिनाको गन्ध छ
आफ्नो मस्तिष्कप्रति कत्रो दम्भ
म मान्छे नै विशिष्ट थरी हुँ भन्यौ
हो,मान्छे त कुन्नि तिम्रो मानवता अलौकिक छ
किनभने त्यो अमानव-तत्त्वहरूले बनेको छ
त्यसैले त
तिम्रो आतङ्कले मेरो मुटु साँघुरियो
तिम्रो उच्च स्वरले म स्वरशून्य भएँ
जमिन हल्लाएर हिंड्ने तिम्रो थर्कोले म गतिशून्य भएँ
तिमी ऐठन भएर आयौ मेरो शान्त निद्रामा
तिमी मन्दविष भएर आयौ बेहोसीको तन्द्रामा
तर अब
तिमी-हामी नमिलेर पनि मिलेका
एक अर्कालाई देख्ता ङिच्च हाँसिदिने
छिमेकी जस्ता भएका छौँ
तिम्रो र मेरो आँगन एउटै भएको छ
साझा आँगनमा यमदूतहरू डुलेका छन्
अब त तिमीलाई पनि बोध भए होला
न्यायको एउटै आशामा बाँच्ता रहेछन्
सबै खालका गरिबहरू :
मृत्युले घुस खाँदैन।