कटीमठको जग्गामा वर्षौदेखि एउटै व्यक्तिको रजाईँ (भिडियो)

 अवैध जग्गा कब्जामुक्त

पर्साको पकहामैनपुर गाउँपालिका-२ सुर्जाहास्थित कटीमठको करिब ६ विगाहा जग्गा वर्षौदेखि एउटै व्यक्तिले अवैध रूपमा भोगचलन गर्दै आएको रहस्य खुलेको छ।

मठ, मन्दिर, पाटीपौवाको संरक्षणको जिम्मेवारी स्थानीय तहले पाएसँगै गाउँपालिकाका केही अगुवाले जग्गा नाप नक्सा गरी मठ संरक्षणमा तदरूकता देखाउनुपर्ने भन्दै गाउँपालिका लिखित निवेदन दिए। त्यसपछि गाउँपालिकाले अमिनी खटाएर उक्त जग्गाको नापी गर्दा ठेक्का सकार भएको जग्गाभन्दा करिब ६ विगाहा जग्गा अवैध रूपमा भोगचलन हुँदै आएको रहस्य खुलेको हो। 

राधाकृष्ण भगवान कटीमठको नाममा रहेको उक्त जग्गा वर्षौदेखि अवैध रूपमा मठ व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दिनानाथ साह तेलीले भोगचलन गर्दै आएको स्थानीय अगुवा शम्भु यादवले आरोप लगाए।

गुठी संस्थान मातहत मठ नजिकै रहेको २८ विगाहा जग्गामध्ये गुठी संस्थान शाखा कार्यालय पर्साले विगतदेखि नै २० विगाहा १४ कठ्ठा खेतीयोग्य जग्गा ठेक्कामा लगाएको छ। बाँकी ६ विगाहा जग्गा मठ सञ्चालन खर्चको लागि गुठी संस्थानले छुटयाएको थियो। तर निवर्तमान समितिका अध्यक्ष दिनानाथ साहले आफ्नो निजी सम्पत्ति ठानेर उक्त जग्गन अवैध रूपमा भोगचलन गर्दै आएको स्थानीय युवा तथा मठको संरक्षणको लागि गाउँपालिकाबाट जिम्मेवारी पाएका जन मनजय दासले बिएल नेपाली सेवालाई जानकारी दिए।

यता मठको सरकारीसमेत जग्गा मठ व्यवस्थापन समितिको मिलेमतोमा चलन चल्तीभन्दा कम भाउमा ठेक्कामा लाग्दै आएको स्थानीय धुरूप साहले बताए।

वि.स.२०२९ सालदेखि गुठी संस्थान मातहत राधेकृष्ण भगवान कटीमठको नाममा रहेको २९ विगाहा जग्गामध्ये २० विगाहा १४ कठ्ठा जग्गा पकहामैनपुर- २ मधुबनीका ठेकेदार सञ्जय साह तेलीले २०७४ सालदेखि प्रति कठ्ठा ६० किलो प्रतिवर्ष दिने गरि ठेक्कामा पाएका थिए।

नेपाली कांग्रेसका नेता निचुटा निवासी असर्फी साह र निवर्तमान अध्यक्ष दिनानाथ साहले उक्त खेतीयोग्य जग्गा भोगचलन गर्दै आएका छन्।

यता मठ व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष साहले मठ संरक्षणका लागि आफू वर्षौदेखि लागिपरेको भन्दै अवैध रूपमा नभएर ठेकेदारबाट उखु खेतीका लागि केही जग्गा मात्र लिएको बताए। उनले ठेक्काभन्दा बढी जग्गा आफूले नभई ठेकेदारले नै जोतखन गर्दै आएको स्पष्ट पारे।

उनले मठको जग्गा नाप नक्सा गरि ठेक्का अनुसारको जग्गा मात्र ठेकेदारलाई दिनुपर्नेमा आफूहरूले समितिबाट यसअघिनै निर्णय गरिसकेको दाबी गरे।

निवर्तमान अध्यक्ष साहका अनुसार यदि ठेक्काभन्दा बढी जग्गा ठेकेदारले भोगचलन गरेको भए बाँकी जग्गाको बालीसमेत मठलाई दिनुपर्ने बताए।

राधाकृष्ण भगवान सुर्जाहा कटीमठको नाममा ६४ विगाहा जग्गा छ। उक्त जग्गामा गुठी संस्थान र मठका महन्थ सुरेन्द्र दासबीच हकभोगको विषयलाई लिएर वर्षौदेखि सर्वोच्चमा मुदा चल्दै आएको छ।

यताँ गाउपालिका अध्यक्ष विजय चौरसियाले गाउँपालिका अन्तर्गत रहेका कटीमठलगायत अन्य सार्वजनिक , ऐलानी जग्गा, मठ मन्दिर संरक्षणको लागि गाउँपालिको तर्फबाट सक्रिय रूपमा लाग्ने बताए।

प्रकाशित मिति: : 2020-05-09 15:44:00

प्रतिकृया दिनुहोस्