भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याइयोस्: दुर्गा पौडेल

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेकी छन्। भारत सरकारले गरेको लामो बन्दाबन्दीको मारमा धेरै नेपाली कामदारहरु परेका छन्। उनीहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ।

प्रतिनिधिसभामा दलको तर्फबाट धारणा राख्दै उनले सरकारले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकतामा ल्याउने भनेपनि भारतमा रहेकाहरुको बारेमा केही नगरेको भन्दै उनीहरुप्रति पनि सोच्न सभामुखमार्फत आग्रह गरिन्।

उनले भारतमा बेखर्ची भएका २५ हजार नेपालीहरु रहेको आफूले तथ्याँक पाएको भन्दै उनीहरुलाई उचित व्यवस्थापन गर्न सुभाव दिइन्। 

यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि भारतमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आचार्यले प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन कष्टकर बन्दै गएकाले स्वदेश फर्किन चाहनेलाई सरकारले सहयोग गर्नुपर्ने बताएका थिए।। 

भारतले गोवामा रहेका विदेशी कामदारहरूलाई फिर्ता पठाउने तयारी थालेको छ।

त्यहाँ रहेका नेपाली कामदारहरूलाई पनि फर्काउने तयारी भइरहेको मुख्यमन्त्री प्रमोद सावन्तले जनाएका छन्।

मुख्यमन्त्री सावन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई दिल्लीस्थित नेपाली दूतवासमा नाम दर्ता गर्न आग्रह गरिसकेका छन्।

भारतको केन्द्र सरकारले यसअघि नै कुनै देशले आफ्ना नागरिक फिर्ता लिन चाहे आफूले सहयोग गर्ने बताइसकेको छ। पछिल्लो समय भारतका विभिन्न सहरबाट रेलमा आप्रवासी कामदारलाई फर्काउने क्रम चलिरहेको छ।
भारतबाट नेपाली कामदार फिर्ता ल्याउनेबारे अन्तिम निर्णय भने नेपाल सरकारले गर्नुपर्छ। सरकारले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।

प्रकाशित मिति: : 2020-05-08 18:15:58

प्रतिकृया दिनुहोस्