कोरोना भाइरसको फैलावट रोक्न विश्वका धेरै देशहरूमा बन्दाबन्दी (लकडाउन) कायमै छ। नतिजा स्वरूप, करोडौं मानिसहरु घरमा थुनिएका छन्। कतिपय देशहरू कोरोनाविरुद्ध लड्न औषधी पत्ता लगाउने काम गरिरहेका छन्। यद्यपि, कुनैपनि राष्ट्र सफल हुन सकेका छैनन्।
भारतमा कोरोना संकट दिनहुँ बढ्दैछ। यहाँ कोरोना बिरामीहरुको संख्या ५६ हजार ३४२ पुगेको छ। सरकारले बारम्बार नागरिकहरूलाई कोरोनाबाट बच्न बन्दाबन्दी लागू गर्न अपील गरेको छ।
तर,बिरामीहरुको चाप उच्च छ। भारतका लागि आगामी दिनहरु झन् चिन्ताजनक हुने विज्ञहरुले चेतावनी दिएका छन्। कोरोना संक्रमित संख्याका आधारमा भारत विश्वको १५औं स्थानमा छ।
अमेरिका, ब्राजील, रसिया र पेरूको तुलनामा कोरोनाभाइरस संक्रमितको संख्या भारतमा कम छ। दैनिक मृत्युको सन्दर्भमा भने भारत चिन्तित नै हुनुपर्दछ।
भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ। बिहीबार मात्रै १०६ जनाको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ।
यता स्पेन, इटाली, फ्रान्स, जर्मनीमा नयाँ कोरोना बिरामीहरूको साप्ताहिक औसत भारतको तुलनामा कम हुदै गएको छ। विश्वको परिप्रेक्षमा भने यो सकारात्मक सुरुवात हो।