भोलिबाट बजेट अधिवेशन सुरु: चस्मा, डायरी र औषधि निषेध, सर्जिकल मास्कको प्रयोग अनिवार्य

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणको जोखिमका बीच भोलिबाट बजेट अधिवेशन सुरु हुने भएको छ। शुक्रबार बेलुका ४ बजेदेखि सुरु हुने संसद अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ। 

संसद सचिवालयले कलम, डायरी र औषधिसमेत संसदभित्र लैजान निषेध गरेको छ। सूचीमाा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने उल्लेख छ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन्। त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ।

अधिवेशनका लागि ३ सय ३४ जना सांसदलाई अलग अलग बस्नेगरी कुर्सीको व्यवस्था मिलाइएको छ।  दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ। दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ। 

बैठक कक्षमा प्रधानमन्त्रीलाई अलग्गै राखिने छ। उनको आसन नजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको छ। 

संसद भवनभित्र रहेको प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री रहेको बेला ६ जनाभन्दा धेरै व्यक्ति भित्र पस्न पाउने छैनन्। प्रधानमन्त्रीका निजी चिकित्सक डा= दिव्या सिंह शाहसहितको टोलीको सुझावको आधारमा सो व्यवस्था गरिएको हो।

सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा जानुपर्ने बाध्यता हट्ने छ। शून्य समयमा र विशेष समयमा जस्तै सांसदहरुले आफू बसेकै ठाउँमा रहेर बोल्नेछन्। संसद भवनभित्र सांसदहरुले बोल्दासमेत ख्याल गर्नु पर्नेछ। एक जना सांसदले बोलिसकेपछि माइकलाई स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्ने हुन्छ। सभाहलका हरेक टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।

सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न नपाइने संसद सचिवालयले जनाएको छ।प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ। माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ।

प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ। त्यसैगरी सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ।

संसद भवन छिर्नेहरुलाई सर्जिकल मास्कको प्रयोग अनिवार्य गरिएको छ। संसद भवन प्रवेश गर्ने वित्तिकै सबैले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ भने शरीरको तापक्रम पनि जाँचिने छ।

संसद सचिवालयका अनुसार एक सय डिग्रीभन्दा बढी तापक्रम देखिएकाहरु बैठक कक्षमा प्रवेश पाउने छैनन्। कोरोना संक्रमणको आशंका भएकालाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ।

प्रकाशित मिति: : 2020-05-07 13:24:57

प्रतिकृया दिनुहोस्