तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिने सहमति

बिएल संवाददाता

सिन्धुपाल्चाेक

सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन्।

बुधबार तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पोलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो।

चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपु¥याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए। आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन्। ‘बिहीबार नेपाली सेनाको सुरक्षा सामग्री आउँदै छ’, प्रमुख भन्सार अधिकृत खत्रीले भने।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए।
 

प्रकाशित मिति: : 2020-05-06 22:50:22

प्रतिकृया दिनुहोस्