बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो।
त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन्। तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन।
बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ।
कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।
दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ। एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन्। यद्यपी बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ।
दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ।
मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन्। उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन्। बरहाइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२०सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ।
बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ।