लकडाउन कम्तिमा ७ दिन थप्ने तयारी, मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेसहित नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ।

सम्भवतः सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ।

पहिलोपटक चैत ११ देखि लकडाउनको घोषणा गरेको सरकारले त्यसपछि चैत १७ गते र २५ गते ८-८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको समय बिहीबार सकिँदै छ।

मुलुकभित्र सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकाले पाँचौंपटक समय थप हुने निश्चित छ। त्यसैगरी भारततर्फको सीमा अनिश्चितकालसम्म बन्दै राख्ने सरकारको तयारी छ।

यसअघि बुधबार बसेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको बसेको बैठकले लकडाउन थप गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन ७ देखि १० दिनसम्म थप्ने निर्णय गरेको र ठ्याक्कै यति दिन भन्नेबारे जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको थियो।

प्रकाशित मिति: : 2020-05-06 12:49:23

प्रतिकृया दिनुहोस्