निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुग्याे, सनसिटीका पुरुष पनि अस्पताल भर्ना

बिएल संवाददाता

काठमाडाै‌ं

 पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक पुरुषमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुनः  देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार मुक्त भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो। पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ। उनको पाटन अस्पतालमै उपचार भइरहेको छ।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ। मंगलबार नै नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका दुई जना पुनःअस्पताल फर्किएका छन्।

फेरि अस्पताल आउनेमा रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा रहेका छन्। उनीहरुमा पुनः संक्रमणको लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा विकास देवकोटाले बताए।

प्रकाशित मिति: : 2020-05-05 22:23:36

प्रतिकृया दिनुहोस्