नारायणी अस्पतालमा पीसीआर ल्याब, एक दिनमा १ सय २० जनासम्मकाे रिपोर्ट आउने

वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबारबाट कोरोना संक्रमित विरामीको परीक्षणका लागि पीसीआर ल्याबबाट नमुना परीक्षण सुरु भएको छ । अस्पतालमा जडान भएको पीसीआर ल्याबबाट आज पहिलो चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी गराए । 

नारायणी अस्पतालमा पहिलो पटक गरिएको पीसीआर परीक्षण रिपोर्टसहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। टेकुको रिपोर्टसँग वीरगञ्जको रिपोर्ट मिले मात्रै ल्याबको परीक्षण सार्वजनिक गरिने डा.उपाध्यायले बताए । 

‘पीसीआर ल्याबबाट एक पटकमा ३० जनाको स्वाब परीक्षण गर्न सकिने छ । एक दिनमा १ सय २० जना सम्मको रिपोर्ट आउने छ,’ उनले भने ।

यसअघि सरकारले देशका विभिन्न १८ स्थानमा पीसीआर ल्याब सञ्चालनमा ल्याएको छ । मंगलबारबाट वीरगञ्जमा ल्याब संचालनमा आएसँगै अब वारा, पर्सा, रौतहटका कोरोना संक्रमित भएको आशंकामा गरिने स्वाब परीक्षण सहज हुने भएको छ ।

प्रकाशित मिति: : 2020-05-05 19:00:26

प्रतिकृया दिनुहोस्