प्रदेश नम्बर पाँचमा कोरोना संक्रमण देखिएसँगै अब बाँकी कर्णाली मात्रै रह्यो। प्रदेश पाँचको पनि नेपालगन्ज (बाँके) कर्णालीको ओटाला (आगन) मै संक्रमितको संख्या ह्वात्तै बढ्दा खतराको घण्टी कान फोड्ने गरि बजेको छ।
केही समय अगाडिको कोइला काण्डबारे बेखबर सायद कमै हौंला। ‘हरेकका घर अगाडि अलि कष्ट गरेर खन्दा त्यहाँ कोइला भेटिन्छ। त्यो देउताले पठाएका हुन्छन्। त्यसलाई मसिनो गरि पिसेर, तेलमा मिसेर टिको लगायो भने कोरोना लाग्दैन,’ यस्तै सुनाएको थियो कसैले।
यो हल्ला तुफानी बेगमा फैलियो। तत्काल फेसबुकका भित्ता रंगिए। बुझ्दै जाँदा यो देउताका धामीले फैलाएका थिएनन्। कुनै असती पालीले (धामीको भक्तले) धामीको नाम लिएर फैलाइदिएको थियो। त्यसपछि आँगनमा खन्नेको संख्या एकाएक बढ्यो। सानो अपुष्ट घटनाको आधारमा घटेको ऋतिक रोशन काण्ड जस्तै यसको फैलियो। यसले ध्वंस नगरे पनि मानसिकतामा नराम्ररी हमला गर्यो।
००००
कोरोना भाइरस प्रभु यशुले खत्तम गर्छन् भनी इसाईको पादरीले नै गरे। पोखराको एउटा चर्चका पास्टर (जुम्ला सिंजा थारिबाडाका) केशरराज आचार्यले प्रभु यशुको नाममा कोरोना भाइरसलाई गाली गर्दै निष्कृय पार्ने प्रयत्न गरे। ‘प्रभु यशुको नाममा तँ मरिजा। प्रभु यशुको नाममा तेरो नास होस्। ए।।। ११ कोरोना तँ भागिजा,’ उनले यसो भनेको भिडियो सामाजिक संजालमा भाइरल भयो। जसरी प्रधानमन्त्री ओली भाइरसको नयाँ परिभाषा दिइरहेका थिए। प्रधानमन्त्री भनिरहेका थिए, ‘भाइरस निर्जीव हो। यसमा भएको बोसीय तत्त्वलाई निष्कृय पार्न तातोपानी खाने। तापोपानीले हात, मुख धुने। तातोपानीले उपद्रो मच्चाउने भाइरसको बोसीय तत्त्व पग्लिन्छ र त्यसले उपद्रो मच्चाउन पाउँदैन।’
००००
कुनै फकिरले देउताको नाममा फैलाएको हल्ला, केशरले प्रभु यशुको नाममा कोरोनालाई निष्किृय पार्नु, आम मान्छे पशुपतिनाथ र चन्दननाथमा भरपर्नु तथा ओलीको ‘भाइरसबारेको परिभाषा’ र उनले सुझाउने उपाय, उस्तै उस्तै त हुन! जसरी हात्ति र हात्ति छाप एकै हुन्। हुनत भारतमा मोदीले पनि थाल ठटाएकै हुन्। दियो बालेकै हुन्। ‘देश अनुसारको भेष, कपाल अनुसारका केश’ उसै भनिएको होइन।
पशुपतिनाथको दाल गलेन। कर्णाली बाहेक सबै ठाउँमा कोभिड –१९ फैलिसकेको छ। ‘तर पनि हालसम्म चन्दननाथले बचाएकै छन्। भर यिनकै छ।’ यस्तै कथनी चलिरहेका छन्। नाम चलेका र जाने बुझेका समेत भन्दैछन्, ‘कर्णालीलाई भाग्यमानी संयोग जुरेको छ।’
००००
के कर्णाली साँच्चै बाबा चन्दननाथ, धामी, भगवान, भाग्य वा अरु यस्तै शक्तिका कारणले कोभिड –१९ बाट बच्न सक्ला त?
संयोगले कर्णालीलाई जोगाएको कुरामा सहमत हुन सकिन्छ। तर यो संयोग पनि धरमराइरहेको छ। अदृश्य शक्ति वा भाग्यलाई त्यति बेलासम्म काँधमा हाल्दा पनि सुहाउँछ, जति बेलासम्म कर्णालीमा कोरोना देखिदैन। तर कर्णालीमा कोरोना नदेखिनुमा फेरि पनि भाग्यको खेल हुन सक्दैन।
कोरोना भाइरस कर्णालीमा आफै बनेर फैलने होइन। बाहिरबाट संक्रमित व्यक्ति भित्रिएको खण्डमा उसको सम्पर्कमा हुनेलाई सर्ने हो। त्यस्तो बेलामा दूरी बढाउन सकिएन भने फैलने हो। यसको उत्पत्ति र फैलावटबारे वैज्ञानिकहरुकै एक मत छैन।
यद्यपि चीनको वुहानबाट संसारभरि फैलिएकोमा दुईमत छैन। हाल यसलाई चर्चाको विषय नबनाउँ। जबसम्म कर्णालीमा संक्रमित व्यक्ति बाहिरबाट आएको छैन तबसम्म संक्रमणको डर छैन। तर कर्णालीमा बाहिरबाट आउनेको संख्या अन्य प्रदेशको तुलनामा धेरै छ। हालसम्म तीनै तहका सरकारले भारत तथा तेस्रो मुलुकबाट भित्र्नेको संख्या यकिन गर्न सकेका छैनन्।
भारत लगायत देशका अन्य स्थानमा व्यापार वा कामको सिलसिलमा जाने कर्णालीबासीको संख्या अन्य प्रदेशको तुलनामा बढी छ। यही बीचमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको मोटामोटी तथ्यांक भने आएको छ। तथ्यांकले भन्छ, लकडाउन यता बबई नाकाबाट कर्णाली भित्रिनेको संख्या १० हजार तीन सय ३२ छ। यसमा लुकिछिपी भित्रिनेकाे संख्या गणना हुने कुरा भएन। त्यसैले कोरोनाको कहरमा कर्णाली भित्रनेको संख्या बढी हुँदा कर्णाली ‘उच्च जाेखिममा’ परेको छ।
कर्णालीमा भित्रिएका कहाँ छन् भनी यकिन गर्न नसकेका हाम्रा तीनै तहका सरकारले सबै नागरिकको स्वास्थ्य परिक्षण गर्ने र सबैलाई क्वारेन्टाइनमा राख्ने तथा संक्रमणबाट जोगाउन सक्ने कुरै भएन। त्यसमाथि प्रदेशका मन्त्री र स्थानीय तह संचालकको हिरोइज्मले पनि जोखिम बढाएको छ।
संकटको बेला देशमा निकै खटेका स्थानीय तह बाहिर रहेका आफ्ना नागरिक उद्दार गर्ने क्रममा नराम्रोसँग चुके। यसले आफैलाई हिलो छ्याप्ने काम यर्यो। फेसबुकमा यति उति नागरिकको उद्दार यर्यौं भनेर फुक्ने स्थानीय तहका प्रमुख, उपप्रमुखले आफन्त र आसेपासेलाई पहिलो प्राथमिकतामा त राखे नै त्यसमाथि उद्धार गरि ल्याइएकालाई क्वारेन्टाइनमा नराखेर आफ्नै नाक काटे। आफ्ना मान्छेलाई घर लिने र अरुलाई थोत्रा स्कुले क्वारेन्टाइनका चिसा बेन्चमा सुत्न लगाएपछि त्यहाँ बस्ने कुरा पनि भएन। ‘जोखिम भाडमा जाय, बाँस तो घरमे होना चाहिए,’ भन्दै घर हिडे।
यसको ज्वलन्त उदाहरण जुम्लाको गुठीचौर गाउँपालिका हो। पालिकाले उद्दार गरि ल्याएका मान्छे क्वारेन्टाइनमा नराखी धमाधम घर पठाएपछि स्थानीय युवाको टोली नै गएर अध्यक्ष हरिबहादुर भण्डारीसँग झगडा गरेको भिडियो सार्वजनिक भएको थियो। त्यो टोली मध्येका एक स्थानीय केसी भण्डारीले कुराकानीको क्रममा भनेका थिए, ‘हामीले पालिका सुरक्षित राख्नको लागि सबै नागरिकलाई क्वारेन्टाइमा राख्न भनेर दबाब दियौं। अध्यक्षले यसलाई आफ्नो विरोध ठान्नुभयो। उल्टो धम्काउनु भयो।’ जिल्लाका अन्य पालिकाले पनि आफूले उद्धार गरि ल्याएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न सकेका छैनन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा ५ सय ५८ जना होम क्वारेन्टाइनमा बसेको देखिन्छ। तर होम क्वारेन्टाइन कत्तिको सुरक्षित छ? यो मूख्य प्रश्न हो। जुम्लामा औंलामा गन्न सकिने बाहेक बाँकी सबै घर कोरोना सुरक्षाका हिसाबले असुरक्षित नै छन्। पुरै घरकाले शौचालय पनि उही प्रयोग गर्नुपर्छ भने कसरी होम क्वारेन्टाइन सुरक्षित हुन्छन्?
होम क्वारेन्टाइन असुरक्षित त छन् नै, स्थानीय तहले बनाएका क्वारेन्टाइन पनि सुरक्षित छैनन्। अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का स्थानीय तहका क्यारेन्टाइन मापदण्ड अनुसारको नभएको मान्छन्।
सुरक्षाका दृष्टिले सबैभन्दा सम्वेदनशील मानिने चौथो तह (बायोसेफ्टी लेभल –४) को प्रयोगशालामा काम गर्ने उनी स्थानीय तहले बनाएका क्वारेन्टाइन बारे यसो भन्छन्, ‘कुनै मापदण्ड पूरा नगरी स्थानीय तहले बनाएका वार्डहरु धेरै जोखिमयुक्त हुन्छन्। यस्तो महामारीको बेला आइसोलेसन वा क्वारेण्टाइनमा बस्दा एउटा रुममा एउटा व्यक्ति मात्र बस्नुपर्छ। नत्र एकजना संक्रमित भेटिए भने अरु सबैलाई सर्ने सम्भावना उच्च हुन्छ। त्यहाँ खटिने चिकित्सकले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्छन् कि गर्दैनन्, त्यसमा पनि विचार पुर्याउनु पर्छ। यसरी कुनै मापदण्ड नपुर्याई बनाएका वार्डहरुमा कोरोनाको बिरामी राख्नुभन्दा बन्द गर्नु नै जाति हुन्छ। नत्र त्यस्ता आइसोलेसन वार्डहरु संक्रमण फैलाउने माध्यम बन्न सक्छन्।’
स्थानीय तहको अव्यवस्थापनमा प्रदेशका नेता तथा मन्त्रीहरुले भाँडभैलै गरे। यसरी हिरोइज्म देखाउने अहिरोमा नेकपाका नेताहरु जनार्धन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, मूख्यमन्त्री महेन्द्र शाही, मन्त्रीहरु नरेश भण्डारी, प्रकाश ज्वाला, नन्दसिंह बुढा, विमला केसी र दल रावल हुन्। यी मध्ये कतिले अति च्यारिटी पनि गरे, ‘जब मन्त्री राति २ जबे बसपार्क पुगे, बल्ल सरकार भएको महसुस भयो, फलानीलाई मन्त्रीले उद्धार गरे,’ जस्ता व्यक्ति केन्द्रित प्रायोजित समाचारका साथ च्यारिटी भयो।
झिना मसिना कामका पनि हाइफाईका समाचार बने। तर उनैले चर्चा बटुल्दै उद्दार गरेर पठाएका मान्छे समेत क्वारेन्टाइनमा बसेनन्। विपदमा नेता भएको महसुस गराउनु नेता र सत्तामा बस्नेको कर्तव्य हुन्छ नै तर च्यारिटीपछि सबै दायित्व सकिदैन। संयोगले पनि कसैलाई संक्रमण देखिएमा जिम्मेवार मात्र होइन कारवाहीको भागिदार पनि उनीहरु नै हुनुपर्छ।
हेलचक्र्याईं गर्दाको परिणाम कति भयानक हुन्छ भन्ने उदाहरण संयुक्त राज्य अमेरिकालाई लिन सकिन्छ। महाशक्ति राष्ट्रको हालत संसारको सबैभन्दा दयनीय छ। सेवा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा उसको हरिबिजोक भयो। त्यसैले ठूला अस्पताल बनाउँनु नै स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी भएको ठहरिँदैन। आवश्यक सामग्रीको सिघ्र उपलब्धता पनि उत्तिकै जरुरी हुन्छ। कोरोना परीक्षणको किट अभावमा क्वारेन्टाइनमा राखेकाको स्वास्थ्य परिक्षण बिनै घर फर्काइएका छन्।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट भागेका मध्ये एक जनालई संक्रमण देखिएको छ। त्यसरी भाग्नेमा कर्णालीका पनि रहेको हल्ला चल्न थालेको छ। यसले जोेखिम उकालो लागेको छ। जोखिम मात्र उकालो लागेको हो भने टर्न सक्छ। तर कोरोना नै उकालो लागेको हो भने ‘इन्द्रेका बाउ चन्द्रे’ आएपनि केही लाग्नेवाला छैन।
कर्णालीले सवा एक दशकको अवधिमा लागेको प्लेग, बिफर, हैजा, झाडापखाला, रुघाखोकी, ठेउला र ज्वरोको महामारीको इतिहासमा कोभिड –१९ अलग हो भने जटिल पनि उत्तिकै छ। त्यसैले भावना र भगवानले होइन विवेकले काम गर्न सके बचिने हो।
कर्णालीले पुजेका देउता र मानेका बाबा चन्दननाथले तत्कालीन समाजलाई अघि बढाउने काम गरेका थिए। समाजमा उनीहरुको कुनै न कुनै रुपमा योगदान छ। जसरी गौतम बुद्धको योगदानको कदर गर्न पुजिन्छ, त्यसरी उनीहरु पनि पुज्य छन्। तर महामारीको बेला उनीहरुका भर परि हुनेवाला केही छैन।
कर्णालीमा हालसम्म कोरोना नदेखिनु संयोग मात्र हो। आशा गारौं यो संयोज जुरिरहोस्। भाग्यको खोजी नगरौं। संयमता अपनायौं भने बेलायती माहारानीले भनेझैं, ‘हामी फेरी भेट्नेछौं।’