३० भन्दा बढी देशले गरे करिब ८ अर्ब अमेरिकी डलर दान
कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि आश्वयक बजेट जुटाउन विश्वका शीर्ष नेताहरुले पहल थालेका छन्। युरोपियन युनियनको पहलमा गरिएको अनलाइन सम्मेलनमा विश्वका ४० देश तथा दाताले सहभागिता जनाएका हुन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पर्याप्त काम नगरेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका बेला इयूको पहलमा भएको अनलाइन सम्मेलनमा विश्वका नेताहरुले एकताको सन्देश दिएका छन्।
सो सम्मेलन इयू कमिसनकी अध्यक्ष भोन डेर लायेनले ब्रसेल्सबाट सोमबार होस्ट गरेकी थिइन्।
सम्मेलनमा अमेरिका र रुसले भाग लिएनन्। कोरोना भाइरसको उत्पती भएको चीनको तर्फबाट सम्मेलनमा युरोपियन युनियनका लागि चिनियाँ राजदूतले भाग लिएका थिए। अनलाइन सम्मेलनमा भाग लिएका मध्ये ३० भन्दा बढी देश, संयुक्त राष्ट्रसंघ, दातृ निकाय, अनुसन्धान इन्स्टिच्युडले करिब ८ अर्ब अमेरिकी डलर रकम दान गरेका छन्।
इयू कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोग जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा लगाउने बताएकी छिन्। ‘यसले मानवता र एकताको साँचो अर्थ पनि देखाएको छ,। तर खोप बनाउने अभियानमा अझै धेरै सहयोग र सहकार्यको खाँचो रहेको छ,’उनले भनिन्।
कसले कति दिए?
पप गायिका म्याडोनाले ११ लाख अमेरिकी डलर सहयोग गर्ने वचन दिएकी छन्। युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो दिने बताएका छन्।
यस्तै जापानले ८०० मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने वचन दिएको छ। विश्व स्वास्थ्य संगठनले लगतार भन्दै आएको छ कि प्रभावकारी खोप या औषधि बिना कोरोना भाइरसमाथि नियन्त्रण कायम गर्न सम्भव छैन। संयुक्त राष्ट्रसंघले पनि जनजीवन सामान्य अवस्थामा फर्किनका लागि खोप नै एक मात्र विकल्प रहेको बताएको छ।
त्यसकारण सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि जाने जनाइएको छ। यस्तै दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको इयूले उल्लेख गरेको छ।
कोरोना भाइरसको संक्रमणको कारण विश्वभर साढे दुई लाखभन्दा धेरैको ज्यान गएको छ। अहिलेसम्म दुई लाख ५२ हजार दुई सयभन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ। विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैबीच विश्वभर झण्डै १२ लाख जना कोरोना संक्रमणबाट निको भएका छन्। ११ लाख ९२ हजार ९ सयभन्दा धेरै कोरोनाको संक्रमणबाट निको भएको वल्डोमिटरले जनाएको छ।
सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ। योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ६९ हजार ६ सय पुगेको छ। यस्तै १२ लाखभन्दा धेरै संक्रमित भएका छन्।
यता इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५/२५ हजार जनाको ज्यान गएको छ। यता नेपालमा ७५ जनामा कोरोना संक्रमण भएकोमा १६ जना निको भएका छन्।