सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब सिर्जना भएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका पेस गर्ने अजेन्डा र सहमतीय प्रस्ताव तयार पार्ने जिम्मेवारी दाहाललाई दिएका छन्। यसबाट पार्टीमा विभिन्न नेताले लिएको दोहोरो जिम्मेवारी हटाउन दाहालमाथि दबाब परेको छ।
नेपाल समूहले पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने, ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आएको छ।
सचिवालय बैठकको सहमति र भावनाअनुसार स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी ओलीले दाहाल र महासचिव विष्णु पौडेललाई दिएका हुन्। यो जिम्मेवारीसँगै नेपाल समूहको माग सम्बोधन गर्ने दायित्व अहिले दाहालको काँधमा आएको छ। ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्दा अहिले दोहोरो जिम्मेवारी लिएका सबै नेताले एउटा छाड्नुपर्ने हुन्छ। दुई अध्यक्षबीच शक्ति बाँडफाँटको विषय मात्र नभएर समग्र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने भएकाले ओलीले सहमतीय खाका तयार पार्ने जिम्मेवारी दाहाल र पौडेललाई दिएका हुन्।