कोरोना संक्रमणको कारण विश्वभर साढे दुई लाखभन्दा बढीले ज्यान गुमाए

बिएल संवाददाता

न्युयाेर्क

कोरोना भाइरसको संक्रमणको कारण विश्वभर साढे दुई लाखभन्दा धेरैको ज्यान गएको छ। 

 कोरोना संक्रमणको कारण अहिलेसम्म दुई लाख ५२ हजार दुई सयभन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ। विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैबीच विश्वभर झण्डै १२ लाख जना कोरोना संक्रमणबाट निको भएका छन्। ११ लाख ९२ हजार ९ सयभन्दा धेरै कोरोनाको संक्रमणबाट निको भएको वल्डोमिटरले जनाएको छ।


सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ। योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ६९ हजार ६ सय पुगेको छ। 

यस्तै १२ लाखभन्दा धेरै संक्रमित भएका छन्।

यता इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५र२५ हजार जनाको ज्यान गएको छ। 

यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा एक सय ५० भन्दा धेरैको ज्यान गएको छ। योसँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या १५ सय ५० भन्दा माथि रहेको छ।

भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सयभन्दा धेरै बिरामी थपिएका छन्। भारतमा कोरोना संक्रमितको सङ्ख्या ४६ हजार चार सय ३० नाघेको छ।

यता नेपालमा ७५ जनामा कोरोना संक्रमण भएकोमा १६ जना निको भएका छन्। 

प्रकाशित मिति: : 2020-05-05 07:29:57

प्रतिकृया दिनुहोस्