अमेरिकी आइडलको उत्कृष्ट ७ मा पुग्लान् त दिवेश ? भोटिङ सकियो, अब प्रतीक्षा निर्णयको 

बिएल संवाददाता

कान्सास सिटी-अमेरिका

अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्लान् त नेपाली युवा दिवेश पोखरेल ? अहिले घरदेश नेपालदेखि परदेशमा विश्वभर छरिएर  रहेका नेपालीमाझ यो एक चासो र उत्सुकताको प्रश्न बनेको छ। त्यसमा पनि अमेरिकामा रहेको नपाली डायस्पोरामा त यसको बढी नै प्रतीक्षा छ।  

उनलाई उत्कृष्ट ७ मा पुर्याउनका लागि गर्नुपर्ने अनलाइन भोटिङ समय सोमबार विहानै सकिसकेको छ। अमेरिकामा रहेका नेपालीले उनको पक्षमा जमेर भोटिङ गरेको सामाजिक सञ्जालले संकेत गरेको छ। अब प्रतिक्षा आइतबार साँझ घोषणा हुने परिणामको मात्र बाँकि छ। 

उत्कृष्ट ७ का लागि अनलाइन भोटिङ समय सकिएपछि पोखरेलले भनेका छन्, 'धेरैभन्दा धेरै नेपाली शुभेच्छुकले मतदान गरेर आफूलाई उत्कृष्ट १० मा पुर्याउन सहयोग गर्नुभएको थियो । आशा एवं विश्वास छ, यसअघि जसरी नै भोट गरेर उत्कृष्ट ७ मा पुर्याउनु हुने छ।'

उनले परिणाम जे भए पनि आफूले सांगीतिक यात्रा निरन्तर राख्ने बताउँदै त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताएका छन्। 

धेरैभन्दा धेरै नेपाली शुभेच्छुकले मतदान गरेर आफूलाई उत्कृष्ट १० मा पुर्याउन सहयोग गर्नुभएको थियो । आशा एवं विश्वास छ, यसअघि जसरी नै भोट गरेर उत्कृष्ट ७ मा पुर्याउनु हुने छ।
-दिवेश पोखरेल (आर्थर गन)

दिवेश अमेरिकी आइडलको यो सिजनमा विभिन्न चरणमा उत्कृष्टता प्रस्तुत गर्दै उत्कृष्ट २० मा पुगेका थिए। अनलाइन भोटिङको यो पहिलो चरणमा तीन करोड ६० लाख मत पाउँदै उनी उत्कृष्ट १० मा पुगिसकेका छन्। 

आइतबार साँंझ  उनले कान्सासको वाचितास्थित घरबाट अर्को चरणको लागि सांगीतिक कोसेली प्रस्तुत गरिसकेका छन्। पृष्ठभूमिमा हिमाल राखेर गितार बजाउँदै उनले जोन डेन्भरको सदाबहार गीत 'टेक मी होम कन्ट्री रोड' गाएका थिए । गीतको मर्मलाई इज्जत गर्दै आफ्नै पनमा ढाँचेर उनले गाएको गीतले निर्णायकहरूको मन जितेको थियो । 

एक निर्णायक तथा चर्चित गायिका केटी पेरीले यो प्रस्तुतिमा अन्तिमसम्मै आफू लीन रहेको बताउँदै आर्थरसँग काम गर्नु रमाइलो भएको प्रतिक्रिया दिएकी थिइन्। अर्का निर्णायक लियानेल रिचीले भने, “जब तिमीले जन डेन्भरको गीत गायौ जसमा रेगे ट्विस्ट गरिएको वास्तवमै अकल्पनीय थियो माइ फ्रेन्ड। यो तिमीलाई रेकर्ड बनाउने कुरा हो। म तिमीलाई भन्छु कि तिमीले जे गर्‍यौ मलाई मन परेको छ।'

उनले दिएको प्रस्तुति, निर्णायकहरूको प्रतिक्रिया, यसअघि पाएको मत संख्या र भोटिङ प्याट्रन हेर्दा उनी उत्कृष्ट ७ मा पुग्ने बलियो सम्भावना देखिएको छ। यदि उनले त्यो सफलता हात लगाए भने उनको लागि त यो ठूलो उपलव्धी हुने छ नै, नेपाल र नेपालीका लागि पनि यो एक कीर्तिमानी उपलब्धी हुने छ।

सांगीतिक नाम आर्थर गन राखेका दिवेश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता अमेरिकाको मध्यपश्चिमी राज्य कान्सासको एक सानो सहर हो। सन् २०१४ मा आएका दिवेशले छोटो समयमै लामो सांगीतिक फड्को मारिसकेका छन्। 
 

प्रकाशित मिति: : 2020-05-05 01:50:32

प्रतिकृया दिनुहोस्