अमेरिकामा यो साता कोरोनाका सबै अप्रिय आँकडामा लगाम लाग्दै आएको छ। संक्रमितको मात्र हैन, मृतकको ग्राफ पनि क्रमश: ओरालो लागेको छ। यसले अमेरिकालाई त एक किसिमको राहतको अनुभूति गराएकै छ, संसारभरका आप्रवासीहरूको देश भएकाले उनीहरूको मूलदेशका आफन्तका लागि पनि सकारात्मक सन्देश मिलेको छ।
यो समाचार तयार पारिरहेको बेला सोमबार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१३ मात्र रहेको छ। कोरोनाको इपिसेन्टर मानिएको न्युयोर्कमा २२६ को निधन भएको छ। हुन त यो संख्या अझै पनि सामान्य हैन तर दिनुहँ औसतमा दुईहजारभन्दा बढी मानिसको मृत्यु भैरहेको अवस्थामा यो संख्यालाई गतिलै राहत संख्या मान्नुपर्छ।
एकसातायताको दिनगन्ति तथ्यांकलाई हेर्ने हो भने मृतकको संख्या यस्तो देखिन्छ- अप्रिल २८ मा २४७०, अप्रिल २९ मा २३९०, अप्रिल ३० मा २२०१, मे १ मा १८९७, मे २ मा १६९१ र मे ३ ११५४ । यी तथ्याङ्कहरूले मृतकको संख्या दिनहुँ घटिरहेको देखाउँछ। यो निरन्तर घट्दोक्रम कोरोनामाथि लगाम लागेको संकेतका रूपमा लिन सकिन्छ।
तर, संक्रमितको संख्या भने अघिल्ला पाँच दिन उकालो लागेको देखिन्छ भने पछिल्लो दुईदिन ओरालो लागेको देखिन्छ।यो समाचार तयार पारिरहेको बेला सोमबार मध्यान्हसम्म संक्रमितको संख्या ९,८९० पुगेको छ। यसअघि आइतबार २७,३४८ र शनिबार २९,७४४ संक्रिमत पाइएका थिए। त्यसअघि अप्रिल २८ मा २५,४०९, सक्रमित रहेकोमा अप्रिल २९ मा २८,४२९, अप्रिल ३० मा ३०,८२९ हुँदै मे १ मा बढेर ३६,००७ पुगेको थियो।