कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षण सोमबारदेखि सुरु भएको छ। लामो समयको प्रयासपछि जुम्लामा कोरोना परीक्षणका लागि पीसीआर उपकरण (मेसिन)सञ्चालनमा आएको छ। 

एकसाता अघि अस्पतालमा पुगेको पीसीआर मेसिन जडान गरी सोमबार साँझदेखि सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ। 

क्वारेन्टाइनमा बसेका ७ जना स्वास्थ्यकर्मी र तातोपानी गाउँपालिकाका एक जनाको स्वाव नमुना संकलन गरि परिक्षण थालिएको छ। मुगु जिल्लाका विभिन्न गाउँमा आरडिडि परिक्षण गर्न गएका ७ जना स्वास्थ्यकर्मीको नमुना परीक्षण भइरहेको छ।

४५ दिन अघि भारतबाट आएका एक जनामा उच्च ज्वारो आएर अस्पतालको इमेरजेन्सीमा उपचार गराइरहेका छन्। उनको पनि स्वाव संकलन गरि परिक्षण थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। ‘सोमवार संकलन गरिएका ८ जनाको रिपोर्ट रातिसम्म आउने छ,’ उनले भने, ‘मंगलवार देखि क्वारेन्टाइनमा बसेका र भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको नमुना संकलन गरि परिक्षण गर्ने तयारी भइरहेको छ।’ 

जुम्लामा संचालनमा आएको उपकरण एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ।
 

प्रकाशित मिति: : 2020-05-04 21:21:54

प्रतिकृया दिनुहोस्