२०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप तयार हुन्छ: राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप तयार हुने बताएका छन्। 

टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन्।

यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए।

उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ।

विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन्।

कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए। उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे।

 

प्रकाशित मिति: : 2020-05-04 11:23:53

प्रतिकृया दिनुहोस्