भारतमा रहेका नेपालीलाई तत्काल ल्याउनु हुँदैन: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीलाई तत्काल ल्याउन नहुने बताएका छन्। 

मन्त्रिपरिषद्को आइतबारको बैठकमा उनले  नेपालमा भन्दा भारतमा संक्रमण बढी फैलिएकाले त्यहाँ रहेका नेपालीलाई अहिल्यै फर्काउनु जोखिमपूर्ण हुने बताएको एक मन्त्रीले जानकारी दिए।

 ‘भारतमा हजारौं नेपाली अलपत्र छन्। उनीहरू नेपाल आउन चाहन्छन्। अरू मुलुकमा अलपत्र परेका नेपालीको संख्या पनि ठूलो छ, तिनलाई के गर्न सकिन्छ ?’ भनेर मन्त्रीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ती मन्त्रीका अनुसार प्रत्युत्तरमा ओलीले भारत र अन्य मुलुकमा रहेका नेपालीको अवस्था गम्भीर नरहेको र त्यहाँका सरकारले खानपिनसहित बसोबासको व्यवस्था गरिरहेको बताए। 

सीमा नजिकका १ हजार २ सय जनालाई ल्याउनासाथ भारतको दिल्लीसहित विभिन्न सहरमा रहेकाहरूले पनि उद्धार गरिदिन आग्रह गर्न थालेको र त्यो तत्काल थेगिनसक्नु रहेको उनले बताए।

विदेशमै नेपालीलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन त्यहाँका सरकार प्रमुख र विदेशमन्त्री तहमा वार्ता र छलफल भइरहेको ओलीको भनाइ छ।

उनका अनुसार मन्त्रिपरिषद्ले भारतमा अलपत्र नेपालीहरूको समस्या समाधान गर्न नेपाली दूतावासलाई जिम्मा दिने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले तत्काल दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिने जानकारीसमेत ती मन्त्रीले दिए।

प्रकाशित मिति: : 2020-05-04 09:24:00

प्रतिकृया दिनुहोस्