खलंगामा खानेपानी अभाव भएपछि तिलाको पानी ओसार्दै चन्दननाथ नगरपालिका

जुम्ला सदरमुकाम खलंगामा खानेपानीको चरम अभाव भएपछि चन्दननाथ नगरपालिकाले आसपासका बासिन्दालाई तिला नदिको पानी उपलब्ध गराइरहेको छ। 

एक साता अघि ठिन्के–उर्थु सडक विस्तारको क्रममा डोजरले पाइप काटेपछि दमकलबाट पानी ओसारेर स्थानीयलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले वडा नम्वर १, २, ४, ५ र ६ का बासीलाई पानीको आवश्यकता मध्येनजर गरी तिला नदिबाट दमकलद्वारा पानी वितरण गर्ने गरेको मेयर कान्तिका सेजुवालले बताइन्। 

नदिको पानी पिउनयोग्य नभए पनि सरसफाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुनमा प्रयोग हुने वितरण गरिएको उनले जानकारी दिइन्। दमकलले ओसारेको पानी लिन कृष्ण मन्दिर अगाडिबाट उपभोक्ताहरुलाई वितरण गर्ने गरिएको छ। 

‘खानेपानीको अभाव भएको बेला जगेडा गरि राखिएको पानी खानलाई प्रयोग गर्ने र अन्य अवश्यकताको लागि नदिको पानी वितरण गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्,‘सकेसम्म उपभोक्तालाई राहत हुने उपाय सोच्नेछौं।’

सडक निर्माणको क्रममा खानेपानी पाइपलाई ध्यान नदिँदा उपभोक्ताले सास्ती भोग्नुपरेको अमर सन्देश होटलका संचालक सुनिता श्रेष्ठले बताइन्।

‘लकडाउनका बेला खाने पानीको हाहाकार भएपछि उपभोक्ता थप समस्या परेका थिए,’ श्रेष्ठले भनिन्,‘नगरपालिकाले संकटमा आफ्नो उपस्थिति जनायो।’

प्रकाशित मिति: : 2020-05-03 20:21:45

प्रतिकृया दिनुहोस्