जुम्लाको सदरमुकाम खलंगामा एक हप्तादेखि खानेपानी अभाव भएको छ। ठिन्के–उर्थु सडक विस्तारको क्रममा डोजरले उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानी आयोजनाको पाइप ठाउँठाउँमा काटेपछि खलंगामा संकट देखिएको हो।
धारामा पानी नआउँदा सास्ती भाेग्नुपरेकाे स्थानीयकाे गुनासाे छ। कोरोना भाइरसको डरले घरभित्रै बस्नुपर्ने अवस्थामा पनि तिला नदी र खलंगा आसपासका गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता भएकाे उनीहरुले बताए।
‘एक गाग्राे पानीकै लागि २/३ घन्टा हिँड्नुपर्छ। जाेखिम उत्तिकै छ,’ उनीहरुले भने, ‘सरकारल दुई कायम गर भन्छ। हामी टाँसिएर लाइन लागिरहेका छाैं। व्यक्तिगत सरसफाइका कामकाज प्रभावित भएका छन्।’
सडक निर्माणको क्रममा खानेपानी पाइपलाई ध्यान नदिँदा उपभोक्ताले सास्ती भोग्नुपरेको समितिका कार्यालय प्रमुख अर्जुन बरालले बताए।
‘खलंगाका सयौं उपभोक्ता खानेपानी सुविधाबाट बञ्चित भएका छन्,’ उनले भने, ‘हामीसँग भएको सीमित स्रोत साधनले नभ्याउँदा पाइप मर्मतमा समस्या भएको हो।’
उनले खानेपानी आपूर्ति गर्न कर्मचारी परिचालन गरिएको जानकारी दिए।
ठिन्के–उर्थु सडक विस्तारका लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।