३ सय ५० किमी साइकल यात्रापछि ज्यान गुमाएका एक अभागी मजदुर

एजेन्सी

उत्तर प्रदेश

एक प्रवासी मजदुर रोजीरोटीका लागि आफ्नो गाउँ छाडेर अर्को प्रदेश जान्छ। उसँग सारा परिवार आश्रित छ। र, उ परिवारका लागि आफूले भ्याएसम्म पसिना बगाउँछ। यो देहातमा बसोबास गर्ने गरिब मजदुरहरूको सामान्य जीवनी हो। 

अझ भारतको कुरा गर्दा, यसमा पनि राज्यको सबैभन्दा ठूलो उत्तर प्रदेशको कुरा गर्ने हो भने अवस्था झन् भयावह छ। 
केन्द्रमा नरेन्द्र मोदी र राज्यमा योगीको सरकार भए पनि गाउँले मजदुरहरूको अवस्था सुध्रिसकेको छैन। 

यसको पछिल्लो उदाहरण बनेका छन्, तबरक अन्सारी। जो उत्तर प्रदेशको महाराजगञ्जका बासिन्दा हुन्। उनी धेरै पहिले रोजगारीका लागि भारतको मायानगरी मुम्बई गएका थिए। उनी महाराष्ट्रको भिवन्डीमा मजदुरी गर्थे। 

कोरोना भाइरस संक्रमण भारतमा फैलिन थालेपछि सरकारले विगत दुई महिनादेखि पुरै देशलाई ‘लकडाउन’ गरेको छ। 

अन्सारीलाई सुरुमा कोरोनाको प्रभाव यति लामो समय चलिरहला भन्ने लागेको थिएन। तर, महाराष्ट्र यसबाट सबैभन्दा बढी प्रभावित बन्न थालेपछि उनका लागि घर फर्किनुबाहेक अन्य कुनै बिकल्प थिएन। 

यसैले उनी मे १ तारिख अर्थात मजदुर दिवसभन्दा दुई दिनअघि भिवन्डीबाट आफ्नो थोत्रो साइकलमा उत्तर प्रदेश फर्किएका थिए। तर, उनको मजदुर दिवसकै दिन शुक्रबार बीच बाटोमा निधन भयो। 

अन्सारीसँगै अन्य १० मजदुर पनि घर फर्किदै थिए। उनीसँगै घर फर्किन लागेका एक मजदुरले भने, ‘लकडाउनका कारण बेरोजगार भएपछि खानका लागि पैसा पनि थिएन। त्यसैले साइकलमै घर फर्किने निधो गरेका थियौं।’ ३ सय ५० किलोमिटरको दुरी पुरा गरेपछि अन्सारीलाई एक्कासी चक्कर आएको थियो र उनी सडकमै लडेका थिए। त्यसपछि उनी उठेनन्।

भारतमा ‘लकडाउन’ पछि प्रवासी मजदुरको निधनको यो तेस्रो घटना थियो। यसअघि मध्य प्रदेशको बडावानीमा ४५ वर्षीय मजदुर र उत्तर प्रदेश, श्रावस्ती जिल्लाका अर्का मजदुरको खाली खुट्टा फर्किने क्रममा बीच बाटोमै निधन भएको थियो। 
 

प्रकाशित मिति: : 2020-05-03 13:54:00

प्रतिकृया दिनुहोस्