अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानीहरूलाई चेतावनी दिँदै अफगानिस्तानमा आतंकवादी क्रियाकलाप जारी राखेमा यसको नराम्रो परिणाम निस्किने बताएका छन्।
ट्रम्पको यो बयान यति बेला आएको हो, जति बेला अमेरिकी सेना अफगानिस्तानमा जारी हिंसा रोक्न सबै पक्षसँग वार्ता गरिरहेको छ। यसमा राजनीतिक स्थिरताका लागि चरणबद्ध कुराकानी भएको छ।
अफगानिस्तानमा अमेरिकी सेनाको प्रवक्ता रहेका सन्नी लेगेटले ट्वीटमार्फत बताएका छन्–अमेरिकाले आफ्नो २ पन्ने सन्देश तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदलाई पठाइसकेको छ।
अमेरिकाले सबै दललाई सङ्घर्ष छाडेर राजनीतिक बाटोबाट समस्याको समाधान खोज्न आवहान गरेको छ। पत्रका अफगानवासीलाई देशको भविष्यप्रति चर्चा गर्न आग्रह गरिएको छ।
गत फेब्रुअरीमा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिका र तालिबानबीच कतारमा ऐतिहासिक सम्झौता भएको थियो। यो सम्झौतापछि अफगानिस्तानमा लामो समयदेखि जारी अमेरिकी युद्ध स्थगित भएको थियो।
अमेरिकासँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्दा कतारमा ३१ सदस्यीय तालिबानी प्रतिनिधि मण्डल समावेश थियो। सरकार र तालिबानबीच कतारको राजधानी दोहामा हस्ताक्षर भएको थियो।
सन् २००१ मा तालिबानी नेता ओसामा बिन लादेनको अगुवाईमा सेप्टेम्बर ११ तारिखमा अमेरिकाको ट्वीन्स टावरमा हवाई आक्रमण भएको थियो। यसपछि लादेनलाई विश्वको ठूलो आतंकवादी घोषणा गर्दै अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना उतारेको थियो। तालिबानसँगको लडाईमा अमेरिकाले ३५ सय सेना गुमाइसकेको छ। १९ वर्षदेखि जारी युद्धमा अमेरिकाले सोचेजस्तो सफलता पाउन सकेको छैन।
पछिल्लो सम्झौता कार्यन्वयन भए अमेरिकाले १४ महिनाभित्र आफ्नो सेना अमेरिका फर्काउने छ। अफगानिस्तानमा हाल ८ हजार अमेरिकी सेना उपस्थित छ।