संघीय संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउन सिफारिश

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्न लागेकाे हाे।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ।

त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ। त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ । 

यसका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्। 

संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको बताए।

त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको उनले बताए ।

बैठक कक्षभित्र पनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उनले बताए ।
 

प्रकाशित मिति: : 2020-05-03 12:44:39

प्रतिकृया दिनुहोस्