कोरोनाका कारण अमेरिकामा घरेलु जनावरको माग ९० प्रतिशतले बढ्यो

एजेन्सी

वासिङटन

कोरोना संक्रमणको त्रासमा सरकारले ‘लकडाउन’ को प्रभाव बढेपछि मानिसहरू घरमा आफूलाई एक्लो महसुस गर्न थालेका छन्। कोरोना भाइरसको प्रभाव अहिले सबैभन्दा धेरै अमेरिकामा छ। र, अमेरिकी नागरिकहरू एक्लोपनाको प्रभावलाई कम गर्न आफ्नो घरमा जनावरलाई स्वागत गरिरहेका छन्। 

जसलाई यसअघि जनावरसँग कुनै चासो थिएन, उनीहरू पनि यसमा चासो लिन थालेका छन्। अमेरिकाको ह्युमेन सोसाइटीका सिइओ किटी ब्लाकले देशभरि घरेलु जनावरको माग ९० प्रतिशतले बढेको बताएका छन्। 

उनले मानिसहरू अत्याधिक समय घरमा बस्दा बोर हुन थालेको बताएका छन्। अहिले अमेरिकामा सबैभन्दा बढी कोरोना प्रभावित न्युयोर्क शहरमा प्रायः मानिसहरु घरमै बसेर नियमित काम गरिरहेका छन्। उनीहरू सामाजिक रूपमा बाँडिएका छन्। 

यसैले उनीहरू कुकुर, बिरालो, मुसा जस्ता जनावरलाई घरमा स्वागत गरिरहेका छन्। 

मानिसहरूले अस्थायी रूपमा भए पनि जनावर खरिद गरेको बताइएको छ। पछिल्लो वर्षको तुलनामा मार्च र अप्रिलमा आश्रय स्थलमा कुकुर र बिरालो दुई गुणा बढी अपनाइरहेका छन्। 

न्यु ओरलियन्सको पशु सुरक्षा केन्द्रका उपाध्यक्ष जिनी बाउमान रोबिलोटाका अनुसार केन्द्रमा रहेको घरेलु जनावरको संख्याभन्दा बढी माग आउन थालेको छ। ‘भविष्यप्रति अनिश्चितता बढेपछि जनावरप्रति मानिसमा प्रेमभाव उत्पन्न भएको छ,’ उनले भने। 

पहिलो पल्ट घरेलु जनावर पाल्न लागेका मानिसहरूलाई उनीहरूको रेखदेख कसरी गर्ने भनेर जानकारी दिने पनि गरिएको उनले बताए।

प्रकाशित मिति: : 2020-05-03 10:25:26

प्रतिकृया दिनुहोस्