सत्यजीत रे आज जीवित हुन्थे भने सय वर्षमा प्रवेश गर्थे। तर, उनी जीवितै भएको भए यसरी उनको सम्झना गरिदैन्थ्यो होला। हामी भारतीयहरू कसैको मूल्यांकन गर्न उसको मृत्यु कुरिरहेका हुन्छौं।
जीवितै रहँदा सम्मान दिने संस्कार हामीले बिर्सिदै गइरहेका छौं। अपवादलाई छोडौं। आजै हेरौ न, कतिवटा अखबार र टेलिभिजन च्यानलले सत्यजीत रेलाई याद गरे?
उनले जीवितै रहँदा ओस्कार अवार्ड जितेका थिए। उनी जीवित रहँदै ओस्कारको ज्यूरीले उनलाई अवार्ड प्रदान गरेकाे थियो। त्यति बेला उनी कोलकातामा बिरामीको अवस्थामा ओछ्यानमा परेका थिए। र, अवार्ड लिन विदेश जाने स्थितिमा थिएनन्। जसका कारण ओस्कर अवार्डको ज्यूरीले पहिलो पल्ट आफ्नो नियम संसोधन गर्दै उनलाई सम्मान दिन कोलकातास्थित घरमै पुगेको थियो।
सम्मानको सूचना पाएपछि उनले भनेका थिए, ‘यो मेरो लागि अप्रत्यासित छ। म एकदमै खुसी छु। निकै खुसी।’
यसपछि जब विश्वभरिका फिल्मकारले उनको प्रसंसा गर्न थाले र विदेशी सम्मानले उनको घर सजिन थाल्यो, तब मात्र उनलाई १९८५ मा (भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्ड) दादा साहब फाल्के अवार्डबाट सम्मान गरियो। जति अवार्ड उनले विदेशमा जिते, त्यो वास्तवमै चकित पार्ने खाल्को थियो।
उनलाई बेलायतको अक्सफोर्ड, कोलकाता तथा दिल्लीसमेत दर्जन बढी विश्वविधालयले ‘डीलिट’ को उपाधिबाट सम्मान गर्यो। ‘स्टार अफ युगोस्लाभिया’ बाट सम्मानित भए। फ्रान्सको ‘लिजेन्ड द अनर’ काे सम्मान पाए। बर्लिन, कान्स, भेनिस फिल्म महोत्सवमा उनलाई विशेष रूपमा सम्मानित गरियो।
विश्वको सर्वश्रेष्ठ १० फिल्म निर्देशकमा उनको नाम लिने गरिन्छ। तर, भारतमा अहिलेसम्म उनको विषयमा एउटा पीएचडी (सोध समेत) भएको छैन। भारतमा यस्ता थुप्रै विश्वविद्याल छन्, जहाँ सत्यजीत रेको सिनेमा पाठ्यक्रममा समावेश छ।
कोरोनाको महामारीभन्दा केही समयअगाडि मलाई कोलकाता जाने अवसर जुरेको थियो–अन्तर्राष्ट्रिय विज्ञान फिल्म महोत्सवमा अतिथिको रूपमा।
महोत्सव कोलकाताको सत्यजीत रे फिल्म संस्थानमा आयोजना भएको थियो। जहाँ पुगेपछि मलाई यस्तो महसुस भयो, जुन म शब्दमा बयान गर्न सक्दिन्।
मैले आफूभित्र सत्यजीत रे धड्किदै गरेको भेटे। संस्थानको भित्ताको चारैतिर रेलाई महसुस गरिरहेको थिए।
उनको पहिलो फिल्म ‘पाथेर पाञ्चाली’ मेरो पहिलो बंग्ला फिल्म थियो र उनको अन्तिम फिल्म ‘घरे बायरे’ पनि मेरो अन्तिम बंग्ला फिल्म बन्न पुग्यो। यसपछि मैले कुनै बंगाली फिल्म हेरिन्।
धेरै कमलाई थाहा होला, सन् १९४८ कोलकातामा फिल्म सोसाइटीको सुरुवात सत्यजीत रे कै पहलमा सुरु भएको थियो। यसपछि देशभरि श्रेष्ठ सिनेमालाई प्रोत्साहित गर्न सिनेमा–आन्दोलनको सुरुवात भयो।
यति बेला हामी पनि इन्दौरमा फिल्म सोसाइटी सञ्चालन गरेर बसेका थियौं र सम्भवत् १९८४ मा उनको अन्तिम फिल्म ‘घरे बाइरे’ निर्माण भएको थियो। यसै वर्ष यो फिल्म सोसाइटीका सदस्यलाई देखाइएको थियो। त्यति बेला श्रीराम ताम्रकार, महेश जोशी र वीरेन मुंशी क्लबको संयोजक थिए। ताम्रकार र वीरेन मुंशी त अहिले हुनुहुन्न तर ‘घरे बाइरे’ को एक–एक फ्रेम ३६ वर्षपछि पनि मेरो आँखामा घुमिरहेको छ। सत्यजीत रेको जादू नै यही हो।
‘पाथेर पाञ्चाली के थियो? सेल्युलाइडमा रचेको एउटा सुन्दर कविता। ‘लाइट र शेड’को विलक्षण समन्वय। रवीशंकरको सम्मोहक संगीतमा मानिसहरूको मथिङ्गल हल्लाउन सक्ने कथा। सिद्धान्त र आदर्शका कारण जिन्दगीको लडाईं हार्दे गरेको एउटा गरिब परिवारको कहानी। जीवनको कठोर यथार्थको अत्यन्त भावुक तथा मार्मिक चित्रण यसरी यसअघि कसैले गरेको थिएन।
फिल्मको पहिलो प्रदर्शन भारतमा भएको थिएन। अमेरिकाको न्युयोर्कमा। ७५ वर्षअगाडी यसलाई दुई पल्ट प्रदर्शित गर्दा सबै अवाक भएका थिए। सबै ट्वाल्ल परेका थिए। भारतमा भने पहिलो साता नै फिल्म सिनेमाघरबाट उत्रिएको थियो। जब विदेशमा यो फिल्मको डंका मच्चियो र एकपछि अर्को देशमा फिल्मको तारिफ हुन थाल्यो। यसपछि मात्र भारतमा मानिसहरूले भन्न थाले– वाह! क्या फिल्म थियो।
यो फिल्मलाई विदेशमा ६ वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएपछि भारतमा राष्ट्रिय सम्मानबाट विभुषित गरियाे। ‘पाथेर पाञ्चाली’ पछि सत्यजीत रेले ३६ वटा फिल्मको खजाना हामीलाई उपहारको रूपमा छोडेर गए।
अपराजितो (१९५६), पारस पत्थर(१९५८), जलसाधर (१९५८), अपूर संसार (१९५९), देवी (१९६०), महानगर (१९६३), चारुलता (१९६४), सोनार केला (१९७४),पीकू (१९८०) र गणशुत्र (१९८९) उनको यही खजानाको उत्कृष्ट किर्ति हुन्।
हिन्दीमा ‘शतरंज के खेलाडी(१९७७)’ र ‘सद्गति (१९८१)’ सत्यजीत रेको अनमोल कलाकृतिमा पर्छ। विश्वस्तरमा उनले थुप्रै मान पाए। सत्यजीत रेको फिल्म विश्व सिनेमाका लागि कालजयी उपहार हो। उनको एक–एक फिल्म आफैमा आलौकिक रचना हो, जसले दर्शकलाई छुट्टै परिवेशमा लैजान्छ। आउने पीढिलाई सायद् विश्वास गर्न पनि गाह्रो पर्नेछ, भारतमा पनि कुनै बेला फिल्मी जगतको यस्तो ‘हिरा’ जन्मिएको थियो भनेर।
बादलको हिन्दी पत्रिका ‘अमर उज्याला’ मा प्रकाशित लेखबाट