कोरोना उपचारको अभ्यास

रासस

काठमाडौँ 

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा खरिपाटीस्थित क्वारेन्टाइनबाट कोरोना प्रमाणित आठ जना र शङ्कास्पदसहित १७ बिरामी आउँदैछन्, तयारी गर्नुस् भन्ने फोन आयो । 
    
छ वटा भेन्टिलेटरसहित १६ श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको अस्पतालमा अकस्मात एकैपटक यतिधेरै कोरोनाका बिरामी आउन लागेको खबरले स्वास्थ्यकर्मीमा एक्कासी हल्लीखल्ली मच्चियो । सबै पिपिई लगाएर सुरक्षितका साथ तयार भए । 
    
त्यसको आधा घण्टामै साइरन बजाउँदै लाइनले छ एम्बुलेन्स एकैपटक आए । अस्पताल आसपासका बासिन्दामा एकैपटक त्रासदी मच्चियो । लाइन लागेका एम्बुलेन्समा कोरोनाका बिरामी ल्याएको हल्ला चल्नेबित्तिकै बाहिर र बाटोमा भएका स्थानीय आत्तिदै घरभित्र पसे, कोही कौशीमा जम्मा भएर अस्पतालको रमिता हेर्न थाले, कोही झ्यालबाट चिहाउन थाले । 
    
अस्पतालमा एकैपटक यतिधेरै एम्बुलेन्स र बिरामी आएपछि स्वास्थ्यकर्मी एकछिन् आत्तिए, के गरौँ के नगरौँ भयो । एम्बुलेन्सभित्र कोही अइँ्याआत्थु गर्दै कराइरहेका, हाँच्छ्यु र खोकिरहेका, स्वाँस्वाँ गरेका बिरामी देखेर अन्योलमा परेका स्वास्थ्यकर्मीको टोली अलमललाई छेड्दै कोही शरीरको तापक्रम नाप्न थाले, कोही ट्रली र ह्विलचियर ल्याउन थाले, कोहीलाई आइसोलेसन वार्डमा लैजान थाले । दुई एम्बुलेन्स आकस्मिक कक्ष अगाडि रोकिएपछि त्यतै लैजान थालियो । एम्बुलेन्सबाट बिरामी ओराल्न सुरक्षा गार्डदेखि कर्मचारीले पनि साथ दिए । पछि कोरोनाको बिरामी भन्ने थाहा पाएपछि उनीहरु हच्किए ।
    
कोरोना पोजेटिभ भएका, शङ्कास्पद व्यक्तिदेखि हात भाँचिएर ल्याएको बिरामीलाई समेत आइसोलेसन कक्षमा लगियो । कोही अक्सिजन दिन थाले, कोही रगत झिकेर ल्याबमा पठाउन थाले, कोहीले स्लायनपानी चढाउने तयारी गरे । कोही बिरामीको रिपोर्टसहितको कागज राख्नमै अलमलिए । 
    
आइलोसेलनमा कोही बिरामी पानी माग्दै थिए, ज्वरो आएकाहरु जाडो भयो भनेर ब्ल्याङ्केट माग्दै थिए । शौचालय गएका बिरामी शौचालयमा साबुन र स्यानिटाइजर नभएको गुनासो गर्न थाले । आइसोलेसन कक्षमा एकैछिनमा भागदौड चल्यो, स्वास्थ्यकर्मींले संयमित हुँदै बिरामीको उपचार र मनोपरामर्श दिन थाले तर पानी र ब्ल्याङ्केट आइपुगेन । आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीबाहेकका मान्छे पनि छिर्न थाले । 
    
यो नाटकीय दृश्य नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा सञ्चालन गरेको कोरोना बिरामी उपचारको कृत्रिम अभ्यासको हो । कोरोना उपचारका लागि तयारी अवस्थामा राखिएका अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र कर्मचारीलाई कुनै जानकारी नै नदिइ नगरपालिका र रेडक्रसले सञ्चालन गरेको कृत्रिम अभ्यास सकिएपछि जब बिरामी श्ययाबाट उठेर बाहिर निस्किन थाले तब छक्क परे स्वास्थ्यकर्मी । कृत्रिम अभ्यासमै बिरामी बनेर आएका रेडक्रसका स्वयंसेवकको अभिनय कोरोनाका जटिल बिरामीभन्दा कम्ती थिएन । 
    
अस्पतालमा कोरोना परीक्षणका लागि आरटिसी ल्याब, एक्स–रे, भेन्टिलेटर, आइसोलेसन, २० श्ययाको क्वारेन्टाइन र चिकित्सक तथा नर्ससहितको तालिम प्राप्त स्वास्थ्यकर्मीसहितको सम्पूर्ण जनशक्ति टोलीलाई कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि तयारी अवस्थामा राखेको यो अस्पतालमा साच्चिकै कोरोना सङ्क्रमित बिरामी आएमा उपचार हुन्छ त भन्नेबारेमा जानकारी लिन र केही कमजोरी भए सुधार्न स्वास्थ्यकर्मीलाई जानकारी नै नदिइ कृत्रिम अभ्यास गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउछन् ।
    
यो अभ्यासबाट साच्चिकै बिरामी आएपछि स्वास्थ्यकर्मीको भागदौड हुन्छ कि हँुदैन, बिरामीले सहज उपचार पाउँछन् कि पाउँदैनन् भन्नेबारेमा जानकारी भएको र व्यवस्थापनमा केही कमजोरीसमेत देखिएकाले त्यसलाई सुधार्ने उनले बताए । बिरामी अस्पताल ल्याउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट हुनसक्ने त्रुटि पत्ता लगाएर सावधानीका साथ उपचारको प्रबन्ध गर्न यो अभ्यास गरिएको उनको भनाइ छ । 
    
कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न कोरिया नेपालमैत्री नगरपालिका अस्पतालले बनाएको कोरोना उपचार प्रतिकार्य योजनालाई परीक्षण गर्न नेपाल रेडक्रस सोसाइटीले नेपालमा पहिलो पटक कोभिड–१९ को कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति एवं राष्ट्रिय विपद् तथा सङ्कट व्यवस्थापन समितिका सभापति मनोज थापाले बताए । बिरामीसँग स्वास्थ्यकर्मीले गर्ने व्यवहार र मनोपरामर्श निकै राम्रो पाइएको बताउँदै उनले एम्बुलेन्समा आएका बिरामीलाई कसले बाहिर निकाल्ने, आइसोलेसनसम्म कसरी लैजाने भन्नेबारेमा अझै तालिम दिनुपर्ने अवस्था रहेको बताए ।
    
बिरामीको भूमिका निर्वाह गरेका रेडक्रसमा कार्यरतले कोरोनाका बिरामी भने पनि केहीलाई आकस्मिक कक्षतर्फ लगिएको, आइसोलेसनमा स्वास्थ्यकर्मी आत्तिएको, पानी, ब्ल्याङ्केटको व्यवस्था नभएको, आइसोलेसनमा जथाभावी मान्छे छिरेको जस्ता सामान्य त्रुटिबाहेक अस्पतालका अन्य तयारी राम्रो रहेको पाइएको बताएका थिए । अस्पतालका निर्देशक डा डि.के. रौशनले चिकित्सक एवं स्वास्थ्यकर्मीले शुरुमा एकैपटक धेरै बिरामी आउँदा अलमल परेको देखिएपछि आगामी दिनमा यसलाई सुधार्दै राम्रो सेवा दिने बताए ।

प्रकाशित मिति: : 2020-05-02 18:43:27

प्रतिकृया दिनुहोस्