आइतबार विश्वका ८५ देशका सेलिब्रिटीलाई लिएर ग्लोबल कन्सर्ट हुने

एजेन्सी

मुम्बई

कोरोनाबाट प्रभावित कलाकारको सहयोगका लागि बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर र जोया अख्तरले मिलेर आयतबार साँझ फेसबुक लाइभमा सबैभन्दा ठूलो कन्सर्टको आयोजना गर्ने भएका छन्। 

‘आई फर इन्डिया’ नाम दिइएको यो कन्सर्टमा विश्वभरिका ८५ बढी सेलिब्रिटीले भाग लिने बताइएको छ। कन्सर्ट नेपाली समयअनुसार पौने आठ बजेदेखि सुरु हुनेछ। 

करणले आफ्नो इन्स्टाग्राममा यसको आधिकारीक जानकारी दिएका छन्। उनले दुई सातादेखि यस विषयमा गृह कार्य भइरहेको पनि बताए। ‘हामी लकडाउनका कारण घरमा थुनिएर बसेका मानिसहरूलाई मनोरञ्जन दिन चाहन्छौं। कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिका लागि पैसा जम्मा गर्ने अभियान पनि यो हुनेछ,’ उनले भनेका छन्। 

उनले यसबाट उठेको सबै पैसा कोभिड सहायता कोषमा जम्मा गरिने जानकारी पनि दिए। 

यो कन्सर्टले ‘गिभ इन्डिया’ को तर्फ पैसा जुटाउने छ। ‘गिभ इन्डिया’ २० वर्ष पुरानो डोनेशन प्लेटफर्म हो। यसको संस्थापक बैकट कृष्णन हुन्। यसले हालसम्म १२ सय ५० भन्दा बढी एनजीओलाई १३ लाखभन्दा बढी मानिसमार्फत पैसाको व्यवस्था गरिसकेको छ। सामाजिक कार्यमा मात्र यो सक्रिय हुने गरेको छ। 

कन्सर्टमा भारतलगायत अन्य देशका कलाकार पनि समावेश हुनेछन्। यसमा शाहरुख खान, करिना कपुर, आलिया भट्ट, एआर रहमान, अरजित सिंह, अनुष्का शर्मा, रितिक रोशन, फरहान अख्तर, जावेद अख्तर, माधुरी दीक्षित, विकी कौशल जस्ता कलाकार समावेश हुँदैछन्। यस्तै, विदेशबाट जो जोनस, केभिन जोन्स, ब्रायन एडम्स, निक जोन्स, सोफी टर्नर, लिली सिंह समावेश रहेका छन्। 
 
 

प्रकाशित मिति: : 2020-05-02 15:37:03

प्रतिकृया दिनुहोस्