दुःखमाथि दुःखकै कुरा थपेर किन अझै दुःखाउनु आफूलाई ? अत्यासमाथि झन् अत्यास थपेर किन अन्याय गर्नु आफैंप्रति ? ‘गर्न नहुने काम’ पो गर्नु भएन त ! गर्नै नपर्ने काम गरेर किन नदुःखेको कपाल डोरी लगाइलगाइ दुःखाउन खोज्नु बित्थामा ? परिस्थितिहरू कस्ताकस्ता मूल्यवान् पाठहरू बोकेर टक्रिएका हुन्छन्, पाठ टिप्न बिर्सेर जहिल्यै परिस्थितिलाई मात्र सरापी बस्न रुचाउने कस्तो दुःखी स्वभाव यो मान्छे जातको ? प्रतिकूलताहरू परीक्षण गर्न आएका हुन्छन् हाम्रो मनको प्रतिरोधी शक्तिको, मनको त्यो शक्ति अजमाएर आफूलाई अघिभन्दा अझै दरोसित उभ्याउनु पर्ने यो घडी पिलपिले कुरा गरिबस्नु कहाँ सुहाउँछ र साइँली ?
महामारीको यो घडी निराशा, हतासा, उदासी र अत्यासका कुरा त उच्चारणै गर्न हुन्न । मनको ब्याट्री स्वाट्टै डाउन हुन्छ । विपतको यस्तो बेला मनलाई पूरा चार्चमा राख्नु पर्छ । यसलाई मुक्त उडानमा टहलिन दिनुपर्छ । तिमी सोध्लाउ, ‘यस्तो अस्वेच्छिक एकान्तवासमा थल्लिनुपरेको बेला मनलाई मुक्त उडानमा टहलाउन कसरी सकिएला र ?’ यस्तो प्रश्न उठाउनुकोे कुनै औचित्य छैन यो बेला । ‘सक्नु पर्छ’ बस् ! यत्ति हो अहिले तिमीले जान्नु पर्ने कुरा, मैले जान्नु पर्ने कुरा, हामी सबैले जान्नु पर्ने कुरा ।