डब्लुएचओले गर्‍यो आफ्नो बचाउँ, सतर्क हुन विश्वलाई पर्याप्त समय दिएको दावी

बिएल संवाददाता

न्युयाेर्क

विश्व स्वास्थ्य संगठ  (डब्लुएचओ)ले कोरोना सङ्क्रमणबाट सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेको छ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि उसले गरेका काम सुस्त र पर्याप्त नरहेको भन्दै आलोचना भएपछि डब्लुएचओले आफ्नो तर्फबाट समय खेर नफालिएको बताएको हो।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जनवरी ३० मै कोरोना भाइरसको महामारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको र त्यसले पूरै विश्व समुदायलाई यसविरुद्धको अभियानका लागि पर्याप्त समय प्रदान गरेको बताए।

माघ १६ गतेसम्म चीनबाहिर ८२ जनामा मात्र कोभिड–१९ पुष्टि भएको थियो र कसैको पनि ज्यान गएको थिएन।

अहिले विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ४१ हजार भन्दा बढी पुगेको छ। यस्तै विश्वभर अहिलेसम्म कोभिड–१९ बाट दुई लाख ३८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ६४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ लाख भन्दा बढी पुगेको छ।

अनलाइन पत्रकार सम्मेलनको क्रममा संगठनले कमजोर स्वास्थ्य सेवा भएका देशहरुमा भाइरसको संक्रमण फैलिने सम्भावना रहेकाले गम्भीर चिन्ता थपिएको भन्दै उनले विश्व समुदायलाई सचेत बनाएका छन्। 

सोमालिया, हाइटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सिएरालियोन र उत्तरी नाइजेरिया जस्ता देशमा पनि कोभिड–१९ को सङ्क्रमण चिन्ताजनक तरिकाले अघि बढिरहेको बताएको छ। संगठनले कोरोना भाइरस प्राकृतिक रुपबाट नै विकसित भएको दावी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना भाइरस महामारी नियन्त्रणका लागि अति कमजोर काम गरेको र चीनको पक्ष लिँदै आएको आरोप लगाउने गरेका छन्।

सोही आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने घोषणा गरेका थिए। अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी हो।

कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा पूर्वको समयलाई डब्लुएचओले बुद्धिमत्तापूर्वक प्रयोग गरेको उनले बताए। भाइरसका बारेमा थप बुझ्नाका लागि त्यसको उद्गम थलो चीन गएर अध्ययन गरिएको उनले बताए।

घोषणा गरिएको तीन महिनापछि पनि कोरोना भाइरसको महामारी सार्वजनिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय चासोयुक्त आपतकाल नै रहेको डा. टेडरोजले बताएका छन्। यस्तो अवस्थामा विश्वव्यापी प्रयासको खाँचो पर्नेमा उनले जोड दिएका छन्।

यस्तै संक्रमणको उच्च तह पार गरेको भन्दै विभिन्न देशहरुले लकडाउन तथा सामाजिक दूरीसहितमा अपनाएको खुकुलोपनले समस्या थप गम्भीर हुन सक्ने तर्फ पनि डब्लुएचओले सचेत बनाएको छ।
 

प्रकाशित मिति: : 2020-05-02 08:39:23

प्रतिकृया दिनुहोस्