नेपालको सत्तारूढ दल नेकपामा यतिबेला विभाजनको कालो बादल मडारिएको हो कि जस्तो देखिएको छ। हिजो नेकपा एमाले बिभाजनलाई नजिकबाट नियालेकोले अहिले नेकपा बिभाजनको चर्चा चलिरहदा त्यतिखेरका घटनाहरुसित तुलना गर्न मन लाग्यो। घटनाक्रमको विकासक्रम उस्तै उस्तै देखिएको हुँदा सजगता अपनाउन जरुरी देखेको छु।
जन्मसँगै मृत्युको अर्को पाटो पनि सँगसँगै जोडिएर आएको हुन्छ भने जस्तै हरेक एकतामा विभाजनको सम्भावना पनि हुन्छ नै । अहिलेको नेकपा पनि दुई ठूला कम्युनिष्ट भंगाला एकीकृत भएर बनेको हुनाले ती भंगालमा फेरि कुनै दिन फाट्ने सम्भावना नहुने भन्ने कुरै हुँदैन। तर, त्यस्तो सम्भावनालाई नेताहरूले नेतृत्व क्षमता प्रदर्शन गर्दै पार्टीगत पद्धतिमार्फत् टार्न सक्नुपर्छ। यी दुई पार्टीको पूर्ण एकीकरण भैनसकेको र एकता महाधिवेशन पनि भैनसकेको अहिलेको अवस्थामा त नेताको झन अहम् भूमिका हुन्छ र हुनु पनि पर्छ।
तर, केही समययता नेकपामा देखिएको चरम गुटगत राजनीतिलाई हेर्दा नेताहरूमा त्यस्तो क्षमता देखिएको छैन । उल्टै शीर्ष नेताहरू नै गुटगत राजनीतिमा फसेर आफैं चुरो समस्या त बनिरहेका छैनन् भन्ने प्रश्न उठाउने खालको परिस्थिति निर्माण भएको छ।
के प्रचण्ड या पूर्वमाओवादी नैं अहिलेको समस्याको मुल जड हुन् ?
हैन। किनभने त्यतिखेर एमाले विभाजनमा प्रचण्डहरु थिएनन्। सबैभन्दा धेरै मिल्ने केपी ओली र बामदेव गौतम नैं विभक्त भएर लडेका थिए जसलाई साथ दिदै नेता कार्यकर्ता दुवैतर्फ विभक्त भए। बामदेवहरु आफूलाई राष्ट्रवादी, सिद्धान्तनिष्ठ र क्रान्तिकारी सम्झन्थे र ओली पक्षलाई राष्ट्रघाती, विदेशी दलाल, खुराफाती, भ्रष्ट र पलायनवादी भन्थे। यसको जवाफमा ओलीहरु सुरासुन्दरी र सुन तस्करी काण्डका नाइके भनेर वामदेवको ब्यक्तिगत चरित्र हत्या गर्थे। पार्टी फुटाउन लागेको आरोप लाउने र फुटाएर गए हुन्छ नि भनेर उक्साउने काम एकैपटक गर्थे। झगडा मिलाउन जीवनपर्यन्त प्रयास गर्दा पनि केही सीप लागेन बिचरा मनमोहन बूढाको।तिनको मायाँ लागेर आउछ अहिले सम्झिदा। तिक्तता यति बढेर गयो कि एउटै पार्टीमा अटाएर बस्न सक्ने अवस्था नैं भएन। अन्तत: नेकपा माले र एमालेका रूपमा दुई चिरा भए। पछि मालेका केही एमालेमा फर्किए, केही माओवादीमा गए, केही माले नै भनेर अझै पनि पार्टी चलाइरहेकै छन्।
प्रचण्ड नेपाली राजनीतिका सबैभन्दा धूर्त खेलाडी हुन्। पार्टी एकता उनको बाध्यात्मक परिस्थिति थियो र उनको नियत स्थायी एकता थिएन भन्नेहरु पनि छन्। परिस्थिति अनुसार या त पार्टी कब्जा गर्ने या फेरि फुटाएर जाने उनको नियत छ भन्नेहरुको अडकलबाजी सही सावित नहुन् भन्ने मेरो कामना छ। मानिसहरुले यसरी उनलाई शंका गर्नुको मूलकारण उनको लामो ढुलमुले पृष्ठभूमि, कांग्रेससित सहकार्य गरिरहेकै बेला प्रमुख दुस्मन ठानिएको एमालेसित लगनगाँठो गाँस्न आईपुग्नु तर चुनाव चिन्ह सूर्यमा चुनाव लड्न तयार नहुनु, अहिलेसम्म पनि पूर्वमाओवादीकै नाममा गुटगत बैठकहरु गर्नु र पुर्वमाओवादीको नाममा बार्गेनिंग गरिरहनु हो। त्यसैले अहिलेसम्म भावनात्मक एकता पनि हुन सकेको छैन।
केपी शर्मा ओली पनि त्यतिकै चतुर नेता हुन्। अहिलेको लडाइँ यी दुईमा को बढी चतुर हुने भन्ने जस्तो पनि देखिएको छ।
नेपालका सबैजसो राजनीतिक दलको विभाजनमा सैद्धान्तिक लेपन लगाइए पनि चुरो कुरो त नेताहरूको जुँगाको लडाई या स्वार्थको टकराव नैं हो भन्ने कुरा बुझ्न कसैलाई पनि गाह्रो छैन। त्यसमा पनि अहिले नेकपाभित्र देखिएको समस्यामा त सिद्धान्तको कुनैं कुरै छैन, गुटबन्दी र नेताहरूको कार्यशैलीको समस्या मात्रै हो। के भनेर पार्टी फुटाउने? के भनेर फुटका पछि लाग्छन् कार्यकर्ता? अनि फुटी हाले पनि फुटाएर जानेको हालत चुनावमा के होला, हिजोको बामदेवहरुको अनुभवले बताइसकेकै छैन र?
बिभाजन र एकताको विगतको अनुभवः
धेरै तथ्यांकको सहारा लिनै पर्दैन, एकता र विभाजन अनि फेरि एकताको धेरै लामो इतिहास छ नेकपासित। विभिन्न भंगलालाई समाहित गर्दै यति ठूलो र शक्तिशाली पार्टी बनेको हो नेकपा। नेकपामा जति पनि विभाजन भए, जे जस्ता सैद्धान्तिक लेप देखाइए पनि, स्याना स्याना इस्युमा जुगाकै लडाईका कारण भए। कहिले चीनलाई हेर्ने दृष्टिकोण नमिलेर त कहिले कांग्रेसलाई मित्र या शत्रु ठान्ने या प्रमुख शत्रु को हो भन्ने प्रश्नमा। पछिल्लोपटक कांग्रेस सरकारले गरेको महाकाली सन्धी ठीक कि वेठिक भनेर नेकपा एमाले विभाजित भएको थियो।
मदन भण्डारीमा पार्टीमा सबैलाई समेटेर लैजान सक्ने, अन्य पार्टीसित पनि मित्रबत सम्वन्ध राख्न सक्ने, दूरदृष्टि र विचारले नेतृत्व दिन सक्ने क्षमता थियो जुन क्षमताको अभाव अहिले खट्किदै आएको छ। त्यसमा पनि केपी ओली त सबैभन्दा बेकार सावित भएका छन् । मदनले विश्वबाट लोप हुन लागेको भनिएको कम्युनिष्ट पार्टीलाई नेपालको माटो सुहाउँदो भन्दै प्रजातान्त्रिक समाजबाद टाइपको जबजको सिद्धान्तलाई अघि सारेका थिए। पञ्चायतविरोधी संयुक्त आन्दोलनको पहल मात्र हैन, नेतृत्वदायी भूमिका र सफलतापछि बहुदलीय नयाँ ब्यवस्थाको संस्थागत विकास नहुन्जेलसम्म कांग्रेसलगायत परिवर्तनकारी शक्तिहरुको एकता कायमैं राख्नु पर्छ भन्ने मान्यता राख्थे। यतिसम्म कि उनले त चुनावमा समेत तालमेल गरेर जानुपर्ने धारणा राखेका थिए। तर तात्कालिन नेका नेतृत्वले सुनुवाइ नगरेपछि बाध्यताबस प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसित चुनाव लडेर हराई पनि दिए।
विचार मिल्नेहरुलाई भरिसक्य पार्टी एकीकरण र नभए कार्यगत एकता गरेर देशको समृद्धिको मार्गचित्र कोर्नुपर्ने मान्यताका मदन भण्डारीले मनमोहन अधिकारी र सहाना प्रधानजस्ता इतिहास बोकेका नेताहरु भएको तर ज्यादै स्यानो पार्टी मार्क्सबादीलाई महत्वपूर्ण स्थान दिएर एकीकरण गरेका थिए। त्यसमा पनि उनले मनमोहन अधिकारीलाई ससम्मान अध्यक्ष नै बनाए। त्यो एकता सुरुबाटै यस्तो राम्रोसित भावनात्मक एकतामा परिणत भएको थियो कि दुई रंगहरु मिसिएर छुट्याउनै नसकिने गरी नयाँ रंगमा सबै रमाउन थालेका थिए। अहिलेजस्तो पूर्वको नाममा बार्गेनिंग हुन्नथ्यो त्यो बेला। सबैले योग्यता र क्षमताअनुसार जिम्मेवारी पाएका थिए। त्यस्तो राम्रो अनुभाव अहिले माओवादीसितको एकतामा कता हरायो कता।
अहिलेको समस्या र समाधान
अहिलेको नेकपाभित्रको समस्या भनेको केपी ओलीको हिजै देखिको स्वभाव हो। गुटबन्दी गर्ने, एउटा स्यानो गुटभित्रै रमाउने, तिनकोे संरक्षण गर्ने तर अर्को पक्षलाई भित्तामैं पुग्नेगरी पेल्ने। उनी आफ्ना बिरोधी पार्टीकालाई मात्र हैन, पार्टी भित्रैकालाई पनि छुद्र बोली ब्यवहार गर्छन्। उनी सवैभन्दा शक्तिशाली पद पार्टी अध्यक्ष र दुइ तिहाई बहुमतको प्रधानमन्त्री छन् तर उनैं संस्थागत रुपमा नचली पार्टी बैठक समेत नबोलाई निश्चित गुटसित मात्र सल्लाह गरेर जवर्जस्त पेलेरै आईरहेका छन्। यस्तो पेलान खेप्न बाध्य थिए पार्टी भित्रै इतर बनाइएका पक्ष किनकि ओली भारतीय नाकाबन्दीविरुद्ध दरो अडान लिएका कारण लोकप्रिय भएका थिए र आमजनताकोे ठूलो आशा र भरोशा थियो उनीमाथि ।
उनका चोटिला र रमाइला कुरामा सबै लट्ठ थिए। उनी आफैं भन्थे, ‘अर्काको किड्नीमा बाँचेकोे छु, यो फाउमा पाएको जिन्दगी देश र जनताका लागि भो। देश त बनाएरै छाड्ने हो। मेरा सन्तान पनि छैनन्, जनता नैं मेरा सन्तान् हुन् केका लागि भ्रष्टाचार गर्ने ? भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न।’ दुई-तिहाईको नेतृत्व लिएर बसेका शक्तिशाली प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट साँच्चिकै सबैले आशा गरेका थिए। तर, त्यस्तो भएन र त्यसो गर्ने नियत पनि देखिएन।
अव त हुँदा हुँदा जनता पनि वाक्क भएर यदि लक डाउन नहुने हो भने विद्रोहमा उत्रिने अवस्था र पार्टीभित्र पनि वार कि पारको लडाईको अवस्था सिर्जना भएको छ। यसले ओलीको कुर्सी गम्भीर खतरामा परेको छ। यो कुनैं स्वदेशी तथा विदेशी शत्रुको षडयन्त्रले नभई ओलीको आफ्नै कार्यशैलीको परिणाम हो। अव त उनी साइजमै आउँनुपर्ने जस्तो देखिएको छ। यस्तो अवस्थामा पनि पार्टीले फेरि मौका दिएछ भने त्यो उनको भाग्यको कुरा मात्र हो। उनलाई अव आराम गर्न सबै महत्वपूर्ण जिम्मेवारीबाट विदा गरिदिए पार्टी, राष्ट्र र उनी आफैको पनि कल्याण हुनेछ।
अहिले केपी ओली चौतर्फि घेराउमा परेका छन्। अल्पमतमा छन् उनी। यस्तो अवस्थामा पार्टी फुटाएर जाँदा ओलीहरुको हालत बामदेवको भन्दा नाजुक हुने पक्का छ। कामना छ, यिनको सद्बुद्धि पलाओस् र बेलैमा सच्चिउन् या पार्टीले जे दिएको खाएर चित बुझाएर बसुन् र बुढेसकालमा स्वास्थ्य लाभ गरुन्। उनले यो २ बर्षको अवधिमा प्रधानमन्त्री र अध्यक्षको रुपमा खेलेको भुमिकाले पार्टीलाई धरासायी अवस्थामा पुर्याई दिएको छ। जनतामाझ अलोकप्रिय हुँदै हिजोको लोकप्रियता माटोमा मिल्न लागेको छ। जनताले अझै विश्वाश गर्ने र आशा गर्ने ठाउँ सिद्धिए जस्तो भएको छ। नेकपा नामको गाडी तहसनहस हुन नदिन निक्कै कुशल चालकहरुको टिमको सिस्टमेटिक कामबाट मात्र सम्भव छ।
कार्यकर्तालाई सुझाव
पार्टी कार्यकर्ताले के बुझ्न जरूरी छ भने तपाई के का लागि पार्टीमा लागेको ? निश्चित मूल्य, मान्यता र समाज परिवर्तनका लागेको कि कुनैं नेताको स्वार्थसिद्धिका लागि लागेको ? हिजो झुक्किए पनि अब झुक्किने बेला छैन । पार्टीको कुनैं गुटको लगौटिया झोले भएर न पार्टीको, न देश र जनताको न आफ्नैं कल्याण हुन्छ। बरु उल्टै तपाईको इज्जत पनि रहने छैन। तपाई एउटा देशभक्त गौरवशाली नेपाली, इमान्दार समाजसेवी र गौरवशाली पार्टीको बफादार सिपाही नभएर दुनियाँको नजरमा गुटको झोले, आदा (आधुनिक दास), चम्चे, हुक्के, चिलिमे, सुन्ड मुसुन्ड, हनुमान, मंडले, अरिंगाल आदि नामले कहलिनु हुनेछ। यो कुरा बेलैमा बुझ्दा राम्रै हुन्छ। तपाईले स्वार्थी नेतालाई साथ दिएर नैं गुट मौलाउने र विभाजन निम्तिने हो। गुटलाई हैन सिंगो पार्टी एकतालाई साथ दिनु पर्छ कार्यकर्ताले।
केपी ओलीका पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै कुर्सी गम्भीर खतरामा परेका छन्। यो कुनैं स्वदेशी तथा विदेशी शत्रुको षडयन्त्रले नभई ओलीको आफ्नै कार्यशैलीको परिणाम हो। अव त उनी साइजमै आउँनुपर्ने जस्तो देखिएको छ। यस्तो अवस्थामा पनि पार्टीले फेरि मौका दिएछ भने त्यो उनको भाग्यको कुरा मात्र हो। उनलाई अव आराम गर्न सबै महत्वपूर्ण जिम्मेवारीबाट विदा गरिदिए पार्टी, राष्ट्र र उनी आफैको पनि कल्याण हुनेछ।
सबै नेता-कार्यकर्ताको आ-आफ्नो ठाउँमा ठूलो योगदान छ यो पार्टीलाई यहाँसम्म ल्याइ पुर्याउन। त्यसको सम्मान गर्न सक्नु पर्छ। त्यति मात्र हैन सत्ताधारी पार्टीका कार्यकर्ताका हिसावले जिम्मेवार र सबैसित सहिष्णु हुनुपर्छ। फरक पार्टी, स्वतन्त्र बुद्धिजिवी, पत्रकार र आम नागरिकलाई सम्मानपूर्ण ब्यवहार गर्नुपर्छ। फरक मत र सल्लाह सुझावलाई सहजताका साथ ग्रहण गर्नुपर्छ र आफ्नो काममा फोकस गरेर कामबाटै मानिसका असन्तुष्टिको जवाफ दिनुपर्छ। यो कोरोनाविरुद्ध सामुहिक रुपमा मिलेर लड्ने बेला हो न कि आफ्नैं पार्टीभित्रको शक्ति संघर्ष। पार्टी एक हुुनुपर्छ र प्रतिपक्ष, पत्रकार र स्वतन्त्र नागरिक समाजले नागरिकलाई पुर्याइरहेको राहत सहयोग र सूचना तथा सुझाव संप्रेषण गरेर गरेको सहयोगप्रति आभारी हुनुपर्छ न कि तिनलाई नैैं गाली गलौज र गिरफ्तारी। अहिले जस्तो अरिंगाल भएर चिल्न बन्द गर्नुपर्छ।
पहिला पनि सबै एउटा एउटा गुट समाएर आफ्नो दुनो सोझ्याउन लाग्ने तर आगो निभाउन कोही नलाग्ने भएर नैं पार्टी फुटेको थियो। केपी ओलीले बामदेवलाई प्रधानमन्त्री दिने भए अरे भनेर तपाईहरु तर्क बितर्कमा नलाग्नुस् । यो पार्टी सिस्टमको कुरा हो, कुनै व्यक्तिले दिने या लिने कुरै हैन। यो त पार्टीको कुरा हो, पार्टीले जे निर्णय गर्छ र त्यो सबैका लागि लागु हुन्छ र हुनु पनि पर्छ। ओलीजीलाई अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले कार्यशैली सुधार, बैठक बसाएर बैठकमा छलफल र निर्णय गर्ने परिपाटी बसाल नत्र जनतामा एकपछि अर्का कमजोरीले गर्दा बदनामी मात्रै भैराख्या छ भन्नु गल्ती हैन, कर्तब्य हो। अराजक शैलीलाई नियन्त्रण गर्ने र पार्टीभित्रै छलफल गर्ने बातावरण पार्टीले बनाउनु पर्छ । सामुहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारीको पार्टी सिस्टम पुनर्स्थापित गर्नुपर्छ। कार्यकर्ताले नीतिगत प्रश्न उठाउनु पर्छ, ब्यक्तिगत रुपमा विभाजित हुने हैन। ब्यक्तिका बारेमा पार्टीले निर्णय गर्ने हो, हिजो केपी ओलीले पनि त्यसैगरी जिम्मेवारी पाएका हुन्। सिस्टममा चल्ने हो भने ओलीकै निरन्तरता भए पनि या जोसुकैलाई ल्याए पनि केही फरक पर्दैन। कार्यकर्ताले बाहिर भोट हाल्दै, नाम काड्दै र गुटबन्दी गर्दै हिड्ने कुरा अनुशासनहिनता हो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तथा अन्य पार्टीलाई सुझावः
अहिले नेकपामा देखिएका जस्तै जस्तै खाले समस्या प्रायश: सबै पार्टीमा छन्। नेपाली कांग्रेस त गुटबन्दीको दलदलमा झन नराम्ररी फसेको छ। यसैकारण प्रमुख प्रतिपक्ष भन्न सुहाउने गरी अंकगणितमा पनि छैन र भूमिका पनि खेल्न सकेको छैन। नेकपा असफल भएर नेकाको पालो आउँछ भन्ने सोझो सोचाईले कति काम गर्ला? नेकाले मौका पाउदा गर्न नसकेकै हो। आम जनतालाई त जसले भए पनि देश बनाइ दिए हुन्छ। सबै ठूला दल परीक्षणण भएर असफल भएपछि के थाहा जनताले अर्को नयाँ बिकल्प पोे खोज्ने हुन् कि?
यो संविधानलाई मान्ने सबै पार्टीहरुको सिद्धान्त मुलत एउटै छ- प्रजातान्त्रिक समाजवाद। सिद्धान्त राम्रो छ तर अव बेला आएको छ यसलाई ब्यवहारमा उतारेर देखाउने। राजनीतिक परिवर्तन भैसक्यो, अव देशमा समृद्धिको बाढी चलाउने बेला आएको छ, सबैको मान्यता पनि यही छ त के हेरेर बसेका ? गुट-उपगुट र बिभाजनको बाटोबाट प्रजातान्त्रिक समाजवाद र देशको समृद्धि प्राप्त हुन्छ? देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवाशक्ति विदेशिने क्रम रोक्ने मात्र हैन हामी विदेशिएकालाई पनि मातृभूमि फर्कौं फर्कौं लाग्ने वातावरण तयार हुनुपर्यो। केका लागि लड्ने? अव त सबै बिचार मिल्ने पार्टी एकीकृत भएर एउटै पार्टी बनाए हुन्छ बरु। यहाँ समस्या सिद्धान्त र बिचारमा हैन, पार्टीको नाममा पनि हैन, नेता-कार्यकर्ताको आचरण, कार्यशैली र ब्यवहारमा हो।
तसर्थ नेपाली कांग्रेसले पनि बेलैमा सोचोस् र पार्टीलाई कसरी गुटफुटरहित एक सिद्धान्तनिष्ट अनुशासित पार्टी बनाउन सकिन्छ भनेर आवश्यक कदम चालोस्। नेपाली जनतालाई यो विकल्प शक्ति हो भन्ने महशुस नगराई कसरी अर्को चुनावमा जनताबिच जान सक्छ?
नेपालमा जब एउटा पार्टीमा भाँडभैलो हुन्छ र फुट्छ, अर्को पार्टी रमाएको देखिन्छ। अझ खराव छिमेकी जस्तो कसरी अर्को छिमेकीकोमा आगो लाउन सकिन्छ भनेर पार्टी फुटाइ दिन अनेक तिकडम पनि भैरहेकै हुन्छ। यो छुद्र ब्यवहारको कुप्रभाव फर्केर आफैंलाई पर्नेछ भन्ने बुझ्न जरूरी छ। कुनैं पनि पार्टी फुट्दा देशलाई नोक्सान हुन्छ र जुट्दा देशलाई फाइदा हुन्छ। यो सत्य कम्सेकम राजनीतिज्ञहरूले त बेलैमा बुझ्न जरूरी छ। सबै मिलेर नै देश समृद्धिको बाटोतर्फ अघि बढ्ने हो, यो सत्य कहिले बुझ्ने हुन् हाम्रा नेताले ? आजको मूल प्रश्न पनि यही नै हो।
(यो लेखकको निजी विचार हो। यसमा ब्रेक एन लिंँक्सको सम्पादकीय नीति प्रतिविम्वित हुदैन।)