विधार्थीलाई बन्दाबन्दीमा निःशुल्क अनलाइन सुविधा दिनुपर्छः अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बन्दाबन्दीको समयमा विद्यार्थीलाई सरकारले निःशुल्क अनलाइन सुविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन्।

महामारीको समयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको भन्दै शिक्षा दिक्षाको क्रम व्यवस्थित गर्न सरकारले तदरूकताका साथ सहयोग गर्नु पर्नेमा उनले जोड दिए।

‘बन्दाबन्दीका कारण अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ। विपद्को समयमा शिक्षालाई सुचारू राख्ने नवीनतम प्रयासमा सरकारको जोडबल आवश्यक छ,’ राणाले शुक्रबार भने। ‘पढ्ने पढाउने प्रयासमा सघाउ गर्दै विद्यालय र विद्यार्थीबीच इन्टरनेटको सुविधा सुढृद र निशूल्क बनाउन आवश्यक छ। सरकारको इच्छाशक्तिकै सवाल छ।’

रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने उनले बताए। १३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना दिँदै राप्रपा अध्यक्ष राणाले यस्तो धारणा सार्वजनिक गर्दै सरकारलाई सजग गराएका हुन्।

बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ता र लुटको भूलभूलैयामा लागीरहे भयावह स्थिति सिर्जना हुने उनले बताए।

‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ। यसर्थ कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नु पर्दछ,’ उनले शुक्रबार भने। ‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ। किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन्।’

शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हकहित, सुरक्षा र सफलताका लागि उनले ऐक्यवद्धता जाहेर गरेका छन्। ‘महामारीको कठिन घडीमा मानव समाजमाथि चुनौति ठूलो छ। समय कठिन छ, श्रमिकहरूको विशिष्ट समस्या एकजुट भएर निदान गर्नु परेको छ,’ शुभकामना सन्देश जारी गर्दै उनले भने।

प्रकाशित मिति: : 2020-05-01 20:27:30

प्रतिकृया दिनुहोस्