दैनिक बिहानको ६ बजेदेखि बेलुकाको ६ बजेसम्म काममा व्यस्त रहने गुरूङ दम्पत्ति आजभोलि फुर्सदिला भएका छन्।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस को संभावित संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनले श्रीमती रीतासहित आफू पनि बेरोजगार भएको ४८ वर्षीय विरेन्द्र गुरूङले बताए।
आफ्नो मेहनेतको कमाईले ५ जनाको परिवार पाल्दै आएका उनीहरूलाई ३९ दिनसम्म कोठामै थुनिएर बस्दा दैनिक छाक टार्न हम्मे हम्मे परेको छ।
'कामै छैन कसरी खान पुग्छ त?,' उनले बिएल नेपाली सेवासँग भने, 'श्रीमती र म नै बेरोजगार भएका छौं।'
तीन जना छोराछोरीमध्ये १८ वर्षीय जेठा छोरा प्रविन घरको आर्थिक अवस्थाकै कारण पढ्न पाएनन्। १४ वर्षीय छोरी सुश्मी र ८ वर्षीय छोरा प्रदिप भने क्रमश ६ र ३ कक्षामा अध्ययनरत छन्।
जेनतेन घर थाम्दै आएका गुरूङ दम्पत्तिलाई जारी लकडाउनले असजिलो बनाइदिएको छ। ‘काम केही गर्न पाएको छैन। जतिखेर पनि घरमै बसिरहनुपर्छ। त्यो बाहेक अरू कुनै विकल्प पनि त छैन् नि,’ उनले भने।
सरकारले जारी गरेको लकडाउन अवधिभर राहत वितरण गरे पनि आफूलाई चित्त नबुझेको उनको गुनासो छ। ‘५ केजी चामलले कति दिन पो थेक्थ्यो र?,'उनी भन्छन् ' भनौं भने कसलाई भन्ने? यदि रोएर आउने भए। दिनभरी नै रोएर बस्थेँ।'
सरकारले बाँडेको राहत अपुग भए पछि उनीहरू अहिले विभिन्न सेवाग्राहीले सडक किनारमा बाढेको खाना मागेर खान बाध्य भएका छन्।
बाटोकै खान खाएको उनीहरूले एक साता भइसकेको छ। ‘के गर्ने घरमा चामलको गेडो छैन। यहाँ नखाए कसरी जीवन जिउने?,’ उनले भने।
सरकारले गरेको लकडाउनको राम्रो र नराम्रो दुवै पक्ष भएको पनि उनले बताए। 'भाइरस फैलिन पाउँदैन, त्यो राम्रो पक्ष हो। तर दिनहुँ काम गरेर आफ्नो जिविका चलाउने हामी जस्ता मजदुरका लागि त्यो नराम्रो पक्ष हो,' उनले भने।
कोभिड-१९ को भय रोक्नका निम्ति सरकारले गरेको रोकथाम अर्थात् लकडाउनको पालना आफूले गर्दै आएको बताउँदैं उनले भने, ‘मलाई भाइरसदेखि कुनै भय छैन्। स्यानीटाइजर त के साबुन पानीलेसमेत हात धुने गरेको छैन। रोगबाट भित्रि मनैदेखि लड्नुपर्छ। कुनै रोगले छुँदैन,’ उनले गर्भका साथ भने।
आज मजदुर दिवस रे नि भन्दा उनले भने, ‘खै के को मजदुर दिवस भन्नु र खै चु्ल्हो बल्न नपाएको धेरै दिन भइसकेको छ।’