अण्डाको मूल्य घटेपछि उपभोगमा वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

 कोरोना (कोभिड–१९) को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ ।

शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।

अण्डा उत्पादकका अगुवा कृषक मदन पोखरेलले रु. २७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको जानकारी दिए । उनका अनुसार ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु. १५० सम्ममा झरेको अण्डाको मूल्य शुक्रबार रु. २७० पुगेको छ । अहिले कृषकका गोदाममा अण्डा छैन । 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी दुई/चार वटा अण्डा प्लाष्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको बताउछन् । लकडाउनअघिसम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।

अण्डाको मुख्य बजार काठमाडौँ हो । अहिले होटल, पार्टीप्यालेस बन्द भएसँगै सभा–सम्मेलन केही भएका छैनन् । अहिलेको अधिकांश खपत घरमा बस्नेहरुले नै गरेका हुन् । सङ्घ  पूर्वअध्यक्ष त्रिलोचन कँडेल अहिले अण्डाको लागत मूल्य रु ११,५३ छ ।

नेपालमा अण्डा वितरणमा अग्रणी संस्था किसान दाना उद्योग प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार लकडाउनको शुरुका दिनमा समस्या भए पनि त्यसपछि बिक्रीमा समस्या छैन ।

मूल्य क्रमशः बढ्दै गएको छ । दैनिक यस कम्पनीले आफ्नो ४०० र किसानको ६०० पेटी अण्डा सङ्कलन गरेर बिक्री गर्दै आएको छ 

प्रकाशित मिति: : 2020-05-01 15:17:01

प्रतिकृया दिनुहोस्