रोल्पाको बम विस्फोटको घटना अनुसन्धान र बेवारिसे बमको खोजी गर्न कांग्रेसको माग

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम विष्फोटबाट मृत्यु भएको थियो।

बिस्फोटमा परेर ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो।

सोही घटनाको गहिरो अनुसन्धान, कारबाही र बेवारिसे बमको खोजी गम्भीर रूपले गर्न कांग्रेसले माग गरेको हो। 

‘जहाँकहीँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, प्रवक्ता विवप्रकाश शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनेको छ।

उक्त घटनाले मर्माहत भएको भन्दै कांग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुखद र गम्भीर भएको बताएको छ।

प्रकाशित मिति: : 2020-05-01 13:38:34

प्रतिकृया दिनुहोस्