बेलायतले कोरोना ‍महामारीको उच्च तह पार गर्‍याे: प्रधानमन्त्री जोन्सन

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले कोरोना भाइरस (कोभिड १९) ‍महामारीको उच्च तह पार गरेको बताएका छन्।

महामारी फैलिन नदिनका लागि लागु गरिएको लकडाउन कसरी खोल्दै जाने भन्ने सम्बन्धमा आउँदो हप्ता विस्तृत योजना सार्वजनिक गर्ने उनले बताए।

महामारीको उच्च तह बेलायतले पार गरेको भए पनि पुनः महामारीले भयानक रुप लिन सक्ने भएकाले अहिले नै जोखिम लिन नहुने उनको भनाई छ।

‘योजनामा बन्द रहेका व्यवसायहरु कसरी खोल्ने, विद्यालयहरु सञ्चालन, कामका लागि मानिसहरु कसरी कार्यालय पुग्नेसहितका सबै कुराको विस्तृत विवरण हुने छ,’उनले भने।

बेलायतमा अहिलेसम्म कोभिड १९ बाट २६ हजार ७७१ जनाको ज्यान गएको छ। बिहीबार मात्रै थप ६७४ जनाको मृत्यु भएको हो।

लकडाउनबाट बाहिर आउनका लागि मास्क उपयोगी रणनीति हुन सक्ने बताएर उनले सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य गर्ने बताए।

बेलायतमा बिहीबार बेलुका कोरोनाविरुद्धको युद्धमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा प्रदायकसहितको सम्मानका लागि ताली बजाइएको थियो। त्यसमा प्रधानमन्त्री जोन्सन पनि सहभागी भएका थिए।

प्रकाशित मिति: : 2020-05-01 08:37:08

प्रतिकृया दिनुहोस्