कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लुम्बिनीमा हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ।
लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।
तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा समिति गठन गरिएको थियो।
सचिवालयसमेत स्थापना गरी बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषले ४ करोड रुपैयाँ बजेट माग गरेकामा एक करोड रुपैयाँ वार्षिक कार्यक्रम अन्तर्गत स्वीकृत भइसकेको थियो।
बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा सामाजिक दूरी कायम गरीे बौद्ध भिक्षु/भिक्षुणी तथा लामा गुरुहरुबाट प्रार्थना, पूजापाठ र २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम राखेको थियाे।
लकडाउनका कारण विगत बर्षहरुमा जस्तो हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कार्यक्रम स्थगित गर्नुपरेको कोषका कायममुकायम सदस्य सचिव ज्ञानिन राईले बताएका छन्।
कोषले बौद्धमार्गीलाई आ–आफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवं पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ।