भाटभटेनीले भन्यो- ‘उपभोक्ता ठग्ने हाम्रो नियत होइन’

भाटभटेनी सुपरमार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको जरिवानामा आफ्नो बचाउ गरेको छ।

भाटभटेनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाब किताब राख्न बारकोड प्रयोग गर्दै आएकोमा लकडाउनको समय दिएका थियौ। बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौँ।’

भाटभटेनीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको छ।

उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको भाटभटेनीले दाबी गरेको छ।

उक्त बारकोड बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले भाटभटेनीलाई जरिवाना गरेको उसले दाबी गरेको छ। ‘प्राविधिक र कानुनी रुपमा यो गल्ती नै हो भन्ने हामी स्वीकार पनि गर्दछौं। तर यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले  भएको होइन,’ भाटभटेनीले उल्लेख गरेको छ।

एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि भाटभटेनीले आम उपभोक्ता र सरोकारवाला सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-04-29 20:21:52

प्रतिकृया दिनुहोस्