बलिउड अभिनेता इरफान खानको निधन भएकाे छ। बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उनकाे निधन भएको हो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।
मंगलबार खान अचानक विरामी भएपछि आइसियूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन।
५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित हुन्। उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए।दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए। उनी आफैले यो खबर शेयर गरेका थिए।
उनी आफैले आफ्नो फ्यानाहरुलाई उक्त कुरा बताउँदै भनेका थिए, ‘जिन्दगीमा अचानक केही यस्तो भइदिन्छ, जसले तपाइलाई अगाडि लिएर जान्छ। मसँग पनि यस्तै केही भइरहेको छ। मलाई न्योरो इन्डोक्राइन ट्यूमर नामक रोगले समातेको छ। तर मसँग रहेको आम मानिसको मायाले बाँचेको छु।’
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको ‘अङ्ग्रेजी मिडियम’ हो।
यही फिल्मकाे शुटिङ क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ। यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो। जब खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो। भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो।
तर उनी आमाको निधनमा लकडाउनका कारण पुग्न सकेका थिएनन्।