इन्टरनेशनल रेस्क्यु कमिटी (आइआरसी) ले मंगलबार एउटा रिपोर्ट सार्वजनिक गर्दै कोरोनाका कारण ठूलो संख्यामा गरिब मुलुकमा मानवीय क्षति हुनसक्ने चेतावनी दिएको छ।
बेलायती पूर्वविदेश सचिव डेभिड मिलिबेण्ड अध्यक्ष रहेको यो कमिटीले विश्वको ३४ सर्वाधिक गरिब मुलुकमा कोभिड–१९ को भाइरसले विनाशकारी प्रभाव ल्याउन सक्ने बताएका हुन्।
उनले एक अर्ब मानिसमा संक्रमण फैलिन सक्ने र ३० लाख मानिसको निधन हुनसक्ने चेतावनी दिएका छन्।
उनले पाकिस्तान, बंगलादेश, म्यानमार, अफगानिस्तान, सिरिया र यमन जस्ता देशमा कोरोनाले ठूलो क्षति पुर्याउन सक्ने औलाए। बेलायतको स्काई न्युजसँग कुराकानी गर्दै उनले भने, ‘कोरोनाले ल्याउन सक्ने क्षतिको बारेमा अहिलेसम्म निकै कम अनुमान गरिएको छ। वास्तविक मानवीय क्षति अरु हुन सक्छ। यो महामारीसँग लड्न गरिब देशलाई निकै कम समय मात्र प्राप्त हुनेछ। त्यहाँ युद्धस्तरमा विनाश हुन सक्छ।’
आरआरसीले ३४ देशको तयारी र अवस्थाको आङ्कलन गर्दै रिपोर्ट तयार पारेको हो। जसमा धेरै युद्धग्रस्त र शरणार्थी प्रभावित देश छन्। यसमा अफ्रिका र एसियाली देशको अध्ययन भएको थियो।
आरआरसीले अफगानिस्तान, पाकिस्तान, बंगलादेश, बुरुण्डी, बुर्किना फासो, क्यामरुन, सेन्ट्रल अफ्रिकी रिपब्लिक, चाड, कोलम्बिया, आइभोरी कोस्ट, कंगो, अल साल्भाडोर, इथोपिया, ग्रीस, इराक, जोर्डन, केन्या, लेबनन, लाइबेरिया, लिबिया, माली, म्यानमार, नाइजर, नाइजिरिया, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सिरिया, तान्जेनिया, थाइल्यान्ड, युवान्डा, भेनेजुएला र यमन रहेका छन्।
यो नयाँ रिपोर्ट विश्व स्वास्थ्य संगठनको २६ मार्चमा प्रकासित ग्लोबल इम्प्याक्ट स्टडी मोडल र डेटा सेट अनुसार छ। यसमा हरेक लाख संक्रमित मानिसमा १ दशमलव ६ जनाको मृत्यु हुने आङ्कलन गरिएको छ।
आइआरसीका अनुसार आउँदो साता तीब्रगतिमा यसविरूद्ध ठोस काम भएन भने ५० करोडदेखि एक अरब मानिसमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने चेतावनी दिइएको छ। यसले १५ देखि ३२ लाखसम्मको निधन हुने आशंका गरिएको छ।
आइआरसीको रिपोर्टमा गरिब देशमा शरणार्थी शिविरमा ठूलो भीडभाड र अभाव रहेको स्थितिमा जोखिम अत्याधिक रहेको बताइएको छ। बंगलादेशको कक्स बजार, ग्रीसको मोरिया क्याम्प, सिरियाको अल होल कोरोनाको निशानामा छन्। स्थानको हिसाबले यहाँ मानिसको चाप अत्याधिक छ।
वर्तमान अवस्थामा गरिब देशमा कोरोना भाइरसको प्रभाव कस्तो छ, त्यो ठ्याक्क अनुमान लगाउन सकिएको छैन। किनभने यी देशहरूमा टेस्टिङ प्रकृया नै राम्रोसँग भएको छैन।
उनले कोरोनाविरूद्धको लडाईमा जी–२० जस्ता धनी राष्ट्र अगाडी आउनुपर्ने बताएका छन्। तर, उनले यति ठूलो समस्याका बाबजुद जी–२० देश सुतेर बसेको आरोप लगाए।