स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले साे कुराकाे जानकारी दिएका हुन्र
मंगलबार रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवानी नगरपालिका १ का दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए।
भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। जनकपुरको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो। उनीहरुको पनि उपचार सुरु गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।
यस्तै, हालसम्म ५४ हजार ८२६ जनाको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रवक्ता देवकोटाले ‘पीसीआर’ विधिमार्फत् १० हजार ८०७ र ‘आरडीटी’बाट ४४ हजार १९ जनाको परीक्षण गरिएको जानकारी दिए।
देशभर २२ हजार ९९ जना व्यक्ति सरकारले तोकेको स्थानमा ‘क्वारेन्टाइन’मा रहेको र १०७ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए।