प्रमुख प्रशासकीय अधिकृतले हातपात गरेको भन्दै गाउँपालिका उपाध्यक्षद्वारा जाहेरी

प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफूमाथि हातपात गरेकाे भन्दै हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले मुद्दा दर्ता गरेकी छन्।

गत वैशाख १२ गते हिमा गाउँपालिकाको कार्यपालिका बैठक संचालन भइरहेको बेला बुढा र नेकपा जिल्ला सिमितिका सदस्य अमरजंग शाहीले आफूलाई हातपात गरेको रोकायाले आराेप लगाएकी छिन्।

‘कार्यपालिकाको बैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता वितरण र लकडाउनको समयमा बाहिर जिल्लाबाट आउनेलाई उद्धार लगायतका विषयमा छलफल चलिरहेको थियो। म रातहत वितरणको कार्यविधि र हिमा गाउँपालिका उपर परेको मुद्दाको विषयमा आफ्नो धारणा र कानुनी कुरा राख्दै थिए,’ उनले भनिन्, ‘त्यही बेला प्रमुख प्रशासकीय अधिकृतले ‘राहत वितरण गर्ने कानुन यो हो हेर’ भन्दै हातपात गर्नुभयो।’ उनले कार्यपालिकामै अपशब्द बोलेर गालिगलोज गरेपछि मुद्दा दर्ता गरेकाे बताइन्।

कार्यपालिकाका सदस्य सचिव समेत रहेका अधिकृतले गाउँपालिकाका स्थानीय अमजंग शाहीलाई कार्यपालिकाको बैठकमा प्रवेश गर्न दिएको र उनले पनि आफूमाथि अभद्र व्यवहार र हातपात गरेको राेकायाले जाहेरीमा उल्लेख गरेकी छिन्।

न्यायिक समितिको संयोजकसमेत रहेकी रोकायामाथि दुर्ब्यवहार र हातपात गरेको जाहेरी दर्ता भएसँगै अनुसन्धान थालिएको प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताए। ‘यो मुद्दाको हदम्याद तीन महिना हुन्छ,’ उनले भने, ‘हामी त्यो अवधिमा अनुसन्धान गर्छौं। दोषि देखिए पक्राउ गर्छौं।’

घटनाको विषयमा प्रमुख प्रकासकीय अधिकृत र शाही दुबैसँग बुझ्न खोज्दा उनीहरुको मोवाइलमा सम्पर्क हुन सकेन भने गाउँपालिकाको कार्यालय रहेको स्थानमा टेलिफोन सम्पर्क हुँदैन।

प्रकाशित मिति: : 2020-04-28 17:15:19

प्रतिकृया दिनुहोस्