भट्टराईको अन्तर्वार्ताबारे रेडियो नेपालका कार्यकारी निर्देशकसँग सञ्चार मन्त्रालयले माग्यो स्पष्टीकरण

रेडियो नेपालले नव निर्मित ‘जनता समाजवादी’ का नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग अन्तर्वार्ता लिएको बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग स्पष्टीकरण सोधेको छ।

मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले कार्कीलाई निर्देशन दिएको हो। 

सञ्चार तथा सूचना सचिव दीपक सुवेदीका अनुसार रेडियोको अन्तर्वार्ताको विषयमा के कसो हो भनी बुझ्न स्पष्टीकरण सोधिएको बताए।

यसअघि चैत ९ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कार्य सम्पादन सन्तोषकजनक नभएको भन्दै मंगलबार मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी अर्को स्पष्टीकरण पनि कार्कीलाई सोधेको छ। कार्यसम्पादन सम्बन्धी स्पष्टीकरण मन्त्रिपरिषद्को निर्णयको आधारमा र अर्को स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयको आधारमा भएको सचिव सुवेदीले जानकारी दिए।

रेडियो नेपालबाट सोमबार बिहान ६:३० बजे प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको भन्दै तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ।

रेडियो नेपालले यसअघि नै समाचार महाशाखा प्रमुख नवराज सिलवालले सञ्चालन गरेको सो कार्यक्रममा भट्टराईले प्रयोग गरेका शब्दहरुप्रति दुःख व्यक्त गरिसकेको छ। भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।

प्रकाशित मिति: : 2020-04-28 14:56:59

प्रतिकृया दिनुहोस्