नेपाल एयरलाइन्स दोस्रो पटक अष्ट्रेलिया जाँदै

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ।

नेपालमा रहेका आफ्ना नागरिक लिनका लागि काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज दोस्रो पटक अष्ट्रेलिया जाने भएको हो।

दूतावासले मे ६ मा जहाज काठमाडौंबाट जाने भएकाले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।

नेपालमा रहेका अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो । यात्रु स्वयमले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरि ब्रिसबेन उडाएको थियो।

दूतावासले जुन व्यक्तिलाई अष्ट्रेलिया र्फकनु छ, उनीहरुलाई टिकटका लागि नेपाल एयरलाइन्समै सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

यसअघि दूतावासले एक टिकेटिङ कम्पनीमार्फत आफ्ना नागरिकको उडान व्यवस्थापन गरेको थियो। तर, उक्त उडान विवादित बन्न पुगेको थियो ।

यसअघि भने दूतावासले सिधै वायुसेवा कम्पनीमा सम्पर्क गर्न भनेको छ। कोभिड १९ को संकटका समयमा नेपाल सरकारको प्राथमिकता आफ्ना नागरिक हुने, नेपालमा तत्काल व्यवसायिक उडानको सम्भावना नरहेको र अष्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने भएकाले चार्टर्ड उडानका लागि पहल गरेको दूतावासले जनाएको छ ।

यो उडान नेपाल एयरलाइन्सको दोस्रो अष्ट्रेलिया उडान हुनेछ। नेपाल एयरलाइन्सले पहिलो उडान अप्रिल १ मा गरेको थियो।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने जाने मिति तथा अन्य कुराका बारेमा भएको अन्तिम व्यावसायिक सम्झौताका नभए पनि यद्यपी जहाज जाने कुरामा सहमति भइसकेको जानकारी गराइन्।

अष्ट्रेलियाले अप्रिल १ पछि पनि कतार एयरवेजको उडानबाट आफ्ना केही नागरिक लिएको थियो।

प्रकाशित मिति: : 2020-04-28 14:50:19

प्रतिकृया दिनुहोस्