विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्।
महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस डाक्टर टेड्रोस एडनहोम गेब्रेयासेसले केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ।
‘हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ,’ गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने।
चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन्। सोमबारसम्म संक्रमणका कारण २ लाख ५ हजार ९४८ जनाले ज्यान गुमाएका छन्।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सोमबार कम्तिमा १२ सयजनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार १४४ पुगेको छ। यस्तै अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ।
इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको सोमबार मृत्यु भयो। इटालीमा अलिहेसम्मबाट ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ।
स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्। निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन्। त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन्।
सामान्य स्वास्थ्य सेवा पाउन समस्या
महानिर्देशक टेड्रोसले कोरोनाका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए। टेड्रोसले जीएवीआई विश्वव्यापी खोप गठबन्धनलाई उद्धृत गर्दै कोरोना भाइरस लकडाउन र सीमा प्रतिबन्धका कारण विभिन्न २१ देशहरुमा खोपहरुको अभाव देखापरेको बताए।
विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप लगाउन नपाएको उनको भनाइ छ।
‘बालबालिकाहरुलाई कोरोनाको संक्रमणबाट कम जोखिममा हुन सक्छन् तर खोपहरू मार्फत रोक्न सकिने अन्य रोगहरूको उच्च जोखिममा छन्’, टेड्रोसले भने।
उनले संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्बले करिब १३ मिलियन जनसंख्या प्रभावित भएको बताए।
ट्रम्पको लगातारको कटाक्षपछि संगठनले गर्यो एजेन्सीको बचाउ
कोरोना महामारीको विषयमा लापरवाही गरेको बात लागेपछि डब्ल्यूएचओकाले संगठनको बचाउ गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीन परस्त भएको भन्दै अमेरिकाले दिँदै आएको रकम स्थगित गरेका छन्। उनी निरन्तर डब्ल्यूएचओमाथि कटाक्ष गरिरहन्छन्।
ट्रम्पले यो अन्तर्राष्ट्रिय संगठनले कोरोनाको विषयमा लापरवाही गरेको र यो आगो सरी फैलिसकेको भन्ने जानकारी लुकाएको आरोप लगाउँदै आएका छन्।
तर गेब्रेयासेसले ३० जनवरीमा सार्वजनिक स्वास्थ्य आपतकालको विषयमा अन्तर्राष्ट्रिय चिन्ता घोषित गरेका बेला नै संसारभरीका देशले यो कुरा सुन्नपर्दथ्यो भन्ने जिकिर गरेका छन्। उनका अनुसार त्यतिबेला चीन बाहिर ८२ संक्रमित थिए र कसैको पनि मृत्यु भएको थिएन।
उनले पत्रकारसँग भने, ‘हामीले त्यतिबेलै पूरा संसारले एउटा व्यापक सार्वजनिक स्वास्थ्य दुष्टिकोण अपनाउनुपर्ने जानकारी दिएका थियौं र त्यतिबेला हामीले भनेका थियौं, ‘खोज, परीक्षण गर, आइसोलेट गर।’ तपाईंहरु आफैं हेर्नुहोस् न जुन देशले यो नीति पालना गरे आज उनीहरुको स्थिती राम्रो छ।’