काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले वैशाख १० गते उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो।